
हेटौँडा : जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशाकारमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिबाना गर्ने फैसला गरेको छ।
जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीवार केशरीलाई सजाय सुनाउँदै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ रुपैयाँ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन आदेश दिएको हो।
अदालतले कंशाकारमाथि एसिड प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष छ महिना कैद सजायसहित ४० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ।
विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा एसिड प्रहार गरेका थिए। प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए। वीरगञ्ज हुँदै भारत भागेका उनलाई ६ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो।
एसिड आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेपछि कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेकी छिन्।