PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

पेट्रोल र डिजलमा अब प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर लाग्ने



पहिलोपोस्ट

पेट्रोल र डिजलमा अब प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर लाग्ने

काठमाडौं : सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ थप कर लगाउने निर्णय गरेको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कर थप गर्ने निर्णय गरिएको हो।

केहि वर्षअघि बुढीगण्डकी जलविद्युत निर्माणका लागि प्रतिलिटर डिजल र पेट्रोलबाट ५ रूपैयाँ उठाउँदै आएको निगमले अब सरकारलाई प्रतिलिटर १० रूपैयाँ बुझाउनु पर्नेछ।

निगमले बुझाउने पैसा जनताबाटै उठाइने हो।

सरकारले कर बढाए पनि इन्धनको भाउ वृद्धि नगर्ने निगमका निर्देशक सुशील भट्टराईले बताए। उनका अनुसार हाल डिजेल र पेट्रोलबाट ५ रूपैयाँ निगमले सरकारलाई बुझाउँदै आएको छ। यो रकम निगमले खुद्रा मूल्यमा जोडेर सर्वसाधारण उपभोक्ताबाट प्रत्यक्ष उठाउँदै आएको छ। सरकारले थप गरेको ५ रूपैयाँ निगमको नाफाबाट कट्टा गरिने उनले दाबी गरे।

उनले निगमको नाफाबाट कटाउने भने पनि उनको कुरा मिल्दैन। नाफाबाट सरकारले छुट्टै आयकर लिन्छ। यसमा निगमले सर्वसाधारणबाट उठाएर सरकारलाई बुझाउने हो।

'सर्वसाधारणलाई सरकारले वृद्धि गरेको कर सिधै इन्धनको मूल्यवृद्धि गरेर उठाइँदैन,' उनले भने। उनले अब प्रतिलिटर बिक्रीपछि हरेक दिन पैसा सरकारी खातामा जम्मा गरिने बताए।

बिहीबार मन्त्रीपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका खतिवडाले पूर्वाधार विकास खर्चका लागि कर वृद्धि गरिएको जानकारी दिए।

राजस्वको लक्ष्य भेट्टाउने सुत्र

महत्वकांक्षी राजस्व असुल गर्ने लक्ष्य राखेको सरकार चालु आर्थिक वर्षको सात महिना बित्दा लक्ष्यभन्दा एक खर्ब कम राजस्व संकलन भएको छ। अर्धवार्षिक समीक्षाबाट ५ प्रतिशत लक्ष्य संशोधन गरे पनि लक्ष्य भेट्न मुस्किल देखिएको छ।

यो अवस्थामा राजस्व असुल गर्ने बाटो मन्त्री खतिवडाले खोजेका हुन्। यस्तै चालु आर्थिक वर्षको बजेटमा छुट्टयाइएको पुँजीगत शीर्षकमा २० प्रतिशत आकार घटाइएको छ। स्रोत व्यवस्थापनमा समस्या देखिएपछि सरकारले पुँजीगत शीर्षककै बजेट कटौती गरेको हो।

वार्षिक २१ अर्ब राजस्व
सरकारले वृद्धि गरेको करबाट वार्षिक २१ अर्ब थप राजस्व असुल गर्न सक्ने देखिएको छ। गत वर्ष भारतबाट १ अर्ब ५४ करोड लिटर डिजल आयात भएको देखिन्छ। यो हिसाबले १० रुपैयाँ कर उठाउँदा १५ अर्ब ४० करोड राजस्व असुली हुने देखिन्छ।

पेट्रोल ५१ करोड ३३ लाख लिटर पेट्रोल आयात भएको छ। यसमा १० रुपैयाँ कर उठाउँदा ५ अर्ब १३ करोड राजस्व असुल गर्न सक्ने देखिन्छ।

चालु आर्थिक वर्षको सात महिनामा सरकारले डिजेलबाट मात्रै ४ अर्ब ४३ करोड राजस्व असुल गरिसकेको छ। यो अवधिमा ८८ करोड ६१ लाख लिटर डिजेल आयात भइसकेको छ। पेट्रोलबाट १ अर्ब ७६ करोड राजस्व असुल गरेको छ। यो अवधिमा ३५ करोड ३९ लाख ७७ हजार पेट्रोल भारतबाट आयात भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell