PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रेल लैजान नेपालमाथि भारतीय कम्पनीको ताकेता : आन्तरिक तयार पूरा भएन, सञ्चालनको लागेन टुंगो



दिनेश खड्का

रेल लैजान नेपालमाथि भारतीय कम्पनीको ताकेता : आन्तरिक तयार पूरा भएन, सञ्चालनको लागेन टुंगो

काठमाडौं : केपी शर्मा ओली सरकारको प्रमुख नारा मध्येको रेल सेवा सञ्चालन योजना मन्त्रालयका प्रक्रियागत झमेलाले अलमलिएको छ। जनकपुर-जयनगर ३५ किमीमा चलाउन नेपालले अर्डर गरेका दुई वटा 'ट्रेन सेट' भारतको चेन्नाई कारखानामा तयार भए पनि तुरुन्त ल्याउन सम्बद्ध विभागमा तयारी नै छैन।

चेन्नाईको कोंकर्ण रेलवे कर्पोरेशनले दुई सेट ट्रेन आफ्नो सवारी डिब्बा कारखानामा तयार पारेर परीक्षण समेत गरिसकेको छ। तयार भएको दुई महिना भयो। नेपालमा रेल ल्याएर चलाउन जनशक्ति तयारी नै गरिएको छैन।

रेलको इञ्जिन र डिब्बा उत्पादक कम्पनीले ट्रेन सेट तयार भएकाले नेपाली पक्षलाई लैजाउ भन्दै पत्राचार समेत गरिसकेको छ।

'उहाँहरुले सेट तयार भएकाले डेलिभरी गरिदिन्छौँ भन्दै खबर गरिसक्नु भयो,' रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, 'हाम्रो तयारी पुगेको छैन। ल्याएरमात्रै भएन, सधैं चलाउन आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्छ।'

लक्ष्य अनुसार आन्तरिक पूरा भए एक महिनाभित्रै रेल नेपाल ल्याइने उनले बताए। रेल सेट ल्याएर राख्ने ठाउँ समेत नभएकाले सेवा सञ्चालन नै ढिलाइ भएको उनको भनाई छ।

आवश्यक तयारीको काम गर्न नसक्दा डेढ वर्षअघि नै परीक्षण गरिएको जयनगर-जनकपुर रेल सेवा कहिलेबाट सञ्चालन हुने भन्ने अझै टुंगो छैन। रेल यातायातको सेवा सञ्चालन गर्न कर्मचारी, पूर्वाधार र ट्रेन सेट आवश्यक पर्छ। पूर्वाधार र ट्रेन सेट तयार भए पनि कर्मचारी भर्नामा ढिलाइ हुँदा विभाग अलमलमा परेको हो।

कर्मचारीको भर्ना प्रक्रिया सुरु गरेको मिश्रले जानकारी दिए।

'रेल चलाउन अत्यावश्यक प्राविधिक भर्नाका लागि सूचना निकालेका छौँ,' उनले भने, 'पहिलो चरणमा त्यस्ता कर्मचारी भर्ना हुनेछन्, जो बिना रेल चलाउन गर्न सकिँदैन। २६ जना प्राविधिक कर्मचारी भर्ना गर्न लागिएको हो।'

जसमा चालक र स्टेशन म्यानेजरलगायत प्राविधिक कर्मचारी हुने उनले बताए। दोस्रो चरणमा थप २०० जना कर्मचारी नियुक्त गर्ने योजना छ।

विभागका अनुसार यस्ता कर्मचारी भारतबाट ल्याएर केही समय सञ्चालन गर्ने र नेपाली प्राविधिकहरु सक्षम भएपछि फिर्ता गर्ने योजना छ। ‍कर्मचारी भर्नाका लागि मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति पनि दिइसकेको छ। श्रम ऐनमा नेपालमा नपाइए मात्रै विदेशबाट ल्याउन पाउने प्रावधान छ। सोही कारण रेल विभागले नेपालमा त्यस्ता कर्मचारी छन् कि छैनन भनेर बुझ्न १५ दिने सूचना निकालेको हो।

१५ दिनमा त्यस्ता कर्मचारी नपाए भारतबाट ल्याउन प्रक्रिया अघि बढाउने तयारीमा रेल विभाग रहेको महानिर्देशक मिश्रले बताए।

जनकपुर-जयनगर रेल सेवा सञ्चालनका लागि ट्रयाक तयार छ। भारतको आर्थिक र प्राविधिक सहयोगमा कुर्थासम्म करिब ३५ किलोमिटर ट्रयाक तयार पारिएको हो। परीक्षणसमेत गरेर तयारीमा अवस्थामा रहेको भनिएको ट्रयाकलाई गत साउनको बाढीले क्षति पुर्‍यायो। बगाएको खण्डसमेत मर्मत ट्रयाक पुनः तयार भएको पनि तीन महिना बितेको छ।

निर्माणको जिम्मा पाएको कम्पनीले ट्रयाक तयार पारेर औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण हुन बाँकी छ।

रेलवे कम्पनीमार्फत संचालन हुने
जयनगर-जनकपुर रेलमार्ग नेपाल रेलवे कम्पनीमार्फत सञ्चालन हुनेछ। अहिले नेपाल रेलवे कम्पनी खडा गर्ने काम भइरहेको मिश्रले बताए। पहिलेकै नेपाल रेलवे कम्पनी ब्युँताउन लागिएको हो।

नेपाल रेलवे कम्पनीको संचालक समितिमा रेल विभागका महानिर्देशक अध्यक्ष, महाप्रबन्धक सदस्य-सचिव, अर्थ, श्रम, भौतिक पूर्वाधार मन्त्रालय, महालेखाका प्रतिनिधि सदस्य हुनेछन्। समितिले समेत अहिलेसम्म पूर्णता पाउन सकेको छैन्। कम्पनीमा महाप्रबन्धकको नियुक्ति हुनै बाँकी छ।

कम्पनीको नेतृत्व गर्ने पदाधिकारी नियुक्ति नै ढिला हुँदा तयारीका सबै प्रक्रिया प्रभावित छन्। कर्मचारी पदपूर्तिदेखि रेल सञ्चालनका अरु काममा ढिलाइ भइरहेको हो। रेलवे कम्पनीमार्फत सबै प्रक्रिया अघि बढाउने निर्णय भएपछि रेल विभाग सरकारको मुख ताकेर बसेको छ।

सुरुमा नेपालमा रेल नेपाल यातायात संस्थानमार्फत सञ्चालन भएको थियो। संस्थान खारेज भएपछि नेपाल रेलवे कम्पनीमार्फत सञ्चालन हुन थाल्यो । रेल चल्नै छाडेपछि कम्पनी पनि बन्द भएको थियो। उक्त कम्पनीलाई पुनः ब्युँताएर रेल संचालन गर्ने योजना सरकारको छ।

यस्तो छ ट्रेन सेट

नेपाल ल्याउन लागिएको रेल डिजेल इलेक्ट्रीफाइड मल्टिपल युनिट (डेमो) रेल सेट हो। यो ट्रेन सेट खासगरि ब्रोडगेज ट्रयाकमा छोटो दुरीमा सञ्चालन गर्न उपयुक्त मानिन्छ।

एक सेट ट्रेनमा पाँचवटा डिब्बा हुन्छन्। अगाडि र पछाडि दुवैतिर इन्जिन जोडिएको हुन्छ। दुवैतिर इन्जिन जोडिएका कारण नघुमाई दुवैतर्फबाट चलाउन सकिन्छ। ट्रेनमा ६ सय जनाले यात्रा गर्न सक्छन्। छोटो दुरी भएकाले उभिएर पनि यात्रा गर्न सकिन्छ। ११० किमि प्रतिघण्टासम्म कुद्न सक्ने क्षमताको हुन्छ।

कहिले आउँछ ?
पोहोर नै चलाउन सुरू गर्ने भनिए पनि पछि सर्दै आएको मिति टुंगो गर्न अझै सरकारी अधिकारी ढुक्क छैनन्।

नेपालले सुरुमा भारतसँग 'वेट लिज' मा लिएर चलाउने योजना बनायो। रेल विभागको एउटा टोलीले गरेको अध्ययनले लिजमा लिएर चलाउनुभन्दा आफ्नै किनेर चलाउन फाइदा हुने निष्कर्ष निकाल्यो। त्यसपछि सरकारले खरिदको प्रक्रिया अघि बढाएको हो।

खरिद प्रक्रिया अघि बढाएका कारण ढिला हुँदै आउँदा जनशक्ति व्यवस्थापनमा पनि तयारी पुगेको छैन। नेपालले भारतसँग दुई सेट ट्रेन करिब एक अर्ब खर्चेर किनेको हो।

जयनगरबाट जनकपुर हुदै बर्दिवाससम्म करिव ७० किमी रेलवे ट्रयाक भारतीय सरकारको सहयोगमा निर्माण थालिएको थियो तर जनकपुरबाट बर्दिवासम्म भने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन। जयनगर जनकपुरमा पहिले नै संचालनमा रहेको न्यारोगेज हटाएर ब्रोडगेज रेल तयार पारिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell