काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गरिने बताएका छन्।
आज बिहान खुमलटारमा सचिवालय सदस्यहरुसँग छलफल गरी चितवन पुगेका प्रचण्डले २१ गते गौतमले राष्ट्रिय सभा सदस्यमा सपथ लिने दावी गरेका हुन्।
प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई सिफारिस नगरी अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने बताइरहेका बेला प्रचण्डले गौतमले सिफारिस लिने बताएका हुन्।
प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्नुहुन्न भन्ने कुरा आफूले कल्पनासमेत गर्न नसक्ने भन्दै 'प्रधानमन्त्री ओलीले सचिवालय बैठकको निर्णय मान्नुहुन्छ। मान्नै पर्छ,' भने।
पार्टीको सचिवालय बैठकले गौतमलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको भन्दै अगाडि थपे, 'महासचिव र प्रवक्ताले यो कुरा सार्वजनिक गरिसक्नु भएको छ। प्रधानमन्त्रीले यो कुरा मान्नुहुन्छ। तपाईँहरुले एक दुई दिनमा थाहा पाउनुहुन्छ। उहाँले सिफारिस नगर्ने कुरा मैले कल्पनासम्म गर्न सक्दिन। उहाँले गर्नुहुन्छ। मैले त्यत्ति बुझेको हो।'
उनले अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने पनि संकेत गरे।
'अर्थमन्त्री बन्नका लागि राष्ट्रियसभामा जानुपर्छ भन्ने छैन। राष्ट्रियसभामा नगए पनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ। हाम्रो संविधानलाई यो प्रधानमन्त्रीको हातको कुरा हो। राष्ट्रियसभाको खाली हुने सिटमा वामदेवजी जानु हुन्छ,' उनले भने।