PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न



रासस

पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

दैलेख : दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सकिएको छ। साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो।

जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायत क्षेत्रलाई आधार मानी चार सय वर्ग किलोमिटर क्षेत्रलाई समेटेर दुई सय किमि साइस्मिक सर्वेक्षण गरिएको थियो। पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा ‘म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण’ तथा ‘जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण’ पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले बताए।

उनका अनुसार साइस्मिक सर्वेक्षणअन्तर्गत १० लाइनमध्ये तीन पूर्वपश्चिम र सात उत्तरदक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुन सक्ने ठाउँ हेरी चार किमी जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएसँगै पहिलो चरणको काम भएको हो।

चीनको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्र गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिकाका केही क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो।

खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा त्रिपाठीले चीनको प्राविधिक टोलीले अहिलेसम्म गरेको चार सर्वेक्षणबाट सङ्कलन गरिएका तथ्यांकको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालेपछि चीनकै अर्को विशेषज्ञ टोली आएर चार किमी गहिराइसम्म मुख्य डिलिङको काम गरिने बताए।

नेपालको संविधान जारी भएपछि मधेसवादी दलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन गएको बेला पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन गर्ने सहमति भएको थियो। खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्नका लागि दुई अर्ब ४० करोड रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो। गत कात्तिकमा तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको उद्घाटन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell