PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

हरेक घरका अब्बल ‘आमा’हरुको यथार्थ कथा



मन्दिरा खत्री

हरेक घरका अब्बल ‘आमा’हरुको यथार्थ कथा

गत सातादेखि प्रदर्शनमा आएको फिल्म ‘आमा’ मा नेपाली समाजमा देखिने आमाहरुको कथा समावेश छ। आमाको त्याग, सहयोग र अभावले एक व्यक्तिको जीवनमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई फिल्ममा दर्साइएको छ।

फिल्मको एक डायलगमा भनिएको छ, ‘सबै ठाँउमा भगवान पुग्न सक्दैनन्, त्यसैले त उनले आमा बनाए।’

उक्त डायलगले एकै वाक्यमा आमाको यथार्थ महिमालाई वर्णन गरेको महसुस हुन्छ।

फिल्ममा तीन जना आमाको कथालाई प्रस्तुत गरिएको छ। मिथिला शर्मा जसका छोरा विदेशिएका छन्। अर्की आमा सरिता गिरी जसका छोरा जन्मिएदेखि नै बिरामी भएर अस्पतालमा भर्ना भएका छन् र आरती (सुरक्षा पन्त) जो निसन्तान छिन्।

निसन्तान आरती बच्चा जन्माउने चाहनालाई मार्दै आफ्नो बिरामी बुवाको खर्च जुटाउन लागि परेकी छिन्। त्यस्तै मिथिला शर्मा विदेशिएको छोरा स्वदेश फर्कने आशमा बसेकी छिन् अनि सरिता गिरी बिरामी छोरोलाई टाढैबाट हेरेर चित्त बुझाउँदै आएकी छिन्।

फिल्मले दर्शकलाई वर्तमान नेपाली समाजको वास्तविकता र भोगाइसँग नजिक गराउने प्रयास गरेको छ। साथै मध्यम वर्गीय परिवारले भोग्नु परेको संघर्ष र पीडालाई पनि प्रस्तुत गरेको छ। 

लाग्छ, हरेक ‘घर’को यथार्थ कथा हो ‘आमा’।

फिल्मको कथा अस्पतालको दृश्यबाट शुरु हुन्छ जहाँ एक आमा (मिथिला शर्मा)का छोरा विदेशिएका छन्। त्यहि बेला उनका श्रीमान् यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) को भ्यार्या ङबाट लडेर टाउकोमा चोट लाग्छ। टाउकोमा चोट लागेपछि उनलाई तत्काल गाउँबाट काठमाडौं ल्याइन्छ।

छोरी आरती (सुरक्षा पन्त) र ज्वाइँ (मनिष निरौला) काठमाडौंको डेरामा बस्दै आएका छन्। छोरा अमेरिका जाँदा लिएको ऋणमा बुवा यज्ञप्रसाद चुर्लुम्म डुब्छन्। उपचार गर्न पैसा नपुग्दा आइपरेका समस्या र उतारचढावको वरिपरि फिल्मको कथा घुमेको छ।

फिल्मको अधिकांश दृश्यलाई अस्पताल र डेरामा मात्र सीमित गरिएको छ। त्यसो त फिल्ममा निजी अस्पतालहरुले मनपरी रुपमा लिँदै आएको चर्को शुल्क र लापरबाहीलाई पनि कोट्याउने प्रयास गरिएको छ। साथै अन्तिम अवस्थामा पुगेको बिरामीलाई जबरजस्ती भेन्टिलेटरमा राखेर पैसा असुल्ने अस्पतालको खराब आचरणलाई पनि पर्दामा प्रस्तुत गरिएको छ।

वैदेशिक रोजगार नेपालीहरुको बाध्यता भइसकेको छ। दिनहुँ हजारौ मानिसहरु वैदेशिक रोजगारीको लागि विदेशिएका छन्। चाहेर पनि उनीहरु आफ्ना देश फर्किन सकेका छैनन्। त्यस्तै यस फिल्ममा पनि आरतीका दाइ बुवा बिरामी हुँदा चाहेर पनि नेपाल फर्किन सक्दैन्।

फिल्मले परिवर्तनशिल समाजको चित्रण गरेको छ। बुवा बित्दा समेत छोरा स्वदेश नफर्किदा छोरी आरतीले बुवाको दाहसंस्कार गर्छिन्।

त्यसैले फिल्ममा पारिवारिक प्रेम, सन्तान र आमाबीचको माया, त्याग, अन्तरजातीय प्रेम विवाह, विदेशिने बाध्यता, अस्पतालमा हुने गरेको ठगी लगायतको विषयलाई उठाएको छ।

उसो त फिल्मको लागि अभिनेत्री सुरक्षा पन्तले आफ्नो कपाल समेत मुण्डन गरेकी थिइन्। उनले फिल्मको लागि गरेको मेहेनत पर्दामा  देखिएको छ। हरेक फिल्ममा भिन्नभिन्न भूमिकामा देखिदै आएकी सुरक्षा आमासम्म आइपुग्दा उनको अभिनयमा अझै बढी निख्खरता आएको महसुस हुन्छ। आमामा उनले एउटी छोरी र पत्नीको भूमिकालाई न्याय गरेकी छिन्। पर्दामा उनको अभिनय अब्बल देखिएको छ।

त्यस्तै कलाकार सरिता गिरी छोटै भूमिकामा देखिए पनि आमाको भूमिकालाई न्याय गरेकी छिन्।

निर्देशक दीपेन्द्र के खनालको निर्देशकिय पाटो तारिफ योग्य नै छ। उनले फिल्ममा मसलेदार ‘कन्टेन्ट’ प्रस्तुत गरेका छैनन्। पर्दामा प्रस्तुत संवेदनाका हरेक दृश्यबाट दर्शकलाई बाधिराख्न उनी सफल देखिन्छन्।

फिल्मको पटकथा नै फिल्मको बलियो पक्ष हो। फिल्म हेरिरहँदा अधिकांश दर्शकले पर्दामा आफ्नै कथा पाउँनेछन्।

त्यस्तै फिल्ममा पानी परिरहेको दृश्य बढी छ। जुन अनावश्यक लाग्छन्। फिल्मको शुरुदेखि अन्त्यसम्म नै छोराले बुवा आमासँग टेलिफोन संवाद मात्रै गर्छन्। टेलिफोन संवाद त छदै छ तर पर्दामा उनलाई एकचोटी पनि नदेखाउँदा भने दर्शकको कौतुहलता मेटिदैन। यस पक्षमा निर्माण टिम चुकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell