PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

दूतावासका कर्मचारीको परिचयपत्र देखाएर ‘अमेरिका पठाइदिन्छु’ भन्दै ठगी गर्ने एक जना पक्राउ



पहिलोपोस्ट

दूतावासका कर्मचारीको परिचयपत्र देखाएर ‘अमेरिका पठाइदिन्छु’ भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं : अमेरिकी दूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर ‘अमेरिका पठाइदिन्छु’ भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले ठगीको अभियोगमा पक्राउ गरेको हो। खड्काले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकी राजदूतावासका कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले पीडितको उजुरीका आधारमा खड्कालाई पक्राउ गरेको हो। उनले अहिले सम्म १० जना भन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको महाशाखाले बताएको छ। पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफुहरुबाट पटकपटक पैसा लिएको बताएका छन्।

खड्काले शुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाम लिँदै नम्बर लिएको बताउने गरेको पीडितहरुको भनाइ छ। काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकी राजदूतावासको आइडी कार्ड देखाएर ‘राजदूतावासमा काम गर्ने मान्छे हुँ’ भनेर बताएको र राजदूतावासकी मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफूहरुले विश्वास गरेको बताए।

उनले धरानमा रहेका आफ्ना बहिनी ज्वाँइलाई समेत भेटेर अमेरिका लैजाने भन्दै ठगी गरेको बताए। त्यस्तै काठमाडौंमा महाराजगंजको पुलिस बिट अगाडि रहेको कफी हाउसमा बोलाएर पैसा लिएको उनले बताए।

खड्काले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफूहरुलाई लोभ देखाएर प्रलोभनमा पारेको पीडितहरुले आरोप लगाएका छन्। खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनीहरुको भनाइ छ।

खडकाले पटकपटक शंका लाग्ने गरी कुरा गरेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन्। रकम दिने बेलामा खड्काको फोटो खिचेको आधारमा आफूहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए। खड्काले अहिले सम्म १० जना भन्दा बढीलाई ठगी गरेको पाइएको छ। त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell