PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मधेसी शहीदहरुको सम्झनामा शालिक निर्माण



राधेश्याम पटेल

मधेसी शहीदहरुको सम्झनामा शालिक निर्माण

वीरगंज : वीरगंजको घण्टाघर अगाडि रहेको पार्कमा मधेसी शहीदहरुको सम्झनामा शालिक निर्माण कार्य शुरु भएको छ। पर्सा क्षेत्र नम्बर १ का संघीय सासदको संसदीय कोषबाट २० लाख र वीरगंज महानगरको २० लाख गरी कुल ४० लाखको बजेटमा शालिक निर्माणको कार्य शुरु भएको हो।

शालिकको शिलान्यास शुक्रवार संघीय सांसद प्रदिप यादव र वीरगंजका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा गरे। २०७२ सालको मधेस आन्दोलनका शहीदहरुको सम्झनामा सांसद यादवको पहलमा मधेसी शहीद पार्कमा शालिक निर्माण गर्न लागिएको हो। 
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले दशकौंदेखि विभेदमा परेका उत्पीडित समुदायका लागि संघर्षमा आफ्नो ज्यान गुमाएका व्यक्तिहरुलाई मधेसले कहिलै बिर्सिन नसक्ने बताए।

‘मधेसले प्राप्त गरेको अधिकार शहीदहरुको बलिदानको उपहार हो’, सांसद यादवले भने, ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयता र मधेसको अधिकार शहीदहरुले आफ्नो ज्यान गुमाएर ल्याउनुभएको छ, उहाँहरुको सम्मान र सम्झनाका लागि शालिक निर्माण गर्न लागिएको हो।’

अहिले पनि मधेसको सबै मुद्दा सम्बोधन नभएको बताउँदै उनले पटकपटक राज्यले मधेसको अधिकारप्रति बेइमानी गरेको आरोप लगाए।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अंसारी, वीरगंज-९ का वडाध्यक्ष मनोज कलवार, वडा नम्बर १२ का वडाध्यक्ष रामदरस कुश्वाहा, वडा नम्बर १३ का वडाध्यक्ष तुफान फारुक अंसारी, समाजवादी वीरगंज महनगर कमिटि अध्यक्ष ईश्वरचन्द्र यादव, युवा नेता कुन्दन सिंह, गौरव बर्मा, समाजवादी विधार्थी युनियनका जिल्ला अध्यक्ष एजाजबाबु रांकी, ठाकुर राम क्याम्पस एकाई अध्यक्ष हरेन्द्र साहलगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell