PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोनाको कहरमा टोकियो ओलम्पिक : अहिलेसम्म विश्वयुद्धका कारण मात्र रोकिएको प्रतियोगिता यसपाला के होला?



मुकुन्द घिमिरे

कोरोनाको कहरमा टोकियो ओलम्पिक : अहिलेसम्म विश्वयुद्धका कारण मात्र रोकिएको प्रतियोगिता यसपाला के होला?

खेलकुद पनि कोरोना भाइरसको प्रभावबाट अछुतो छैन। चीनका लगभग सबैजसो खेल प्रतियोगिता प्रभावित भइसके भने चीन बाहिरको खेलकुद क्षेत्र पनि प्रभावित छ। कोरोनाको प्रभावले युरोपका समेत खेलहरु प्रभावित भइसकेका छन्।

'क्रियाको प्रतिक्रिया' भनेजस्तो कुनै एउटा क्षेत्र प्रभावित हुँदा अर्को क्षेत्र पनि सँगसँगै प्रभावित हुन्छ। यहाँ कोरोनाको चर्चा गरिरहँदा खेलकुद पनि यसबाट प्रभावित छँदैछ। त्यसमा पनि प्रभावित हुन सक्ने सबैभन्दा ठूलो इभेन्ट छ- 'टोकियो ओलम्पिक'।

अहिलेसम्मको अवस्था हेर्दा जापानमा १ सय ८६ जनामा कोरोना भाइरसको प्रभाव कन्फर्म भइसकेको छ। यस्तोमा जुलाइबाट शुरु हुने ओलम्पिकको आयोजनालाई लिएर चर्चा परिचर्चा शुरु भइसकेको छ।

यसभन्दा अघि तीन पटकसम्म ओलम्पिक क्यान्सिल भएको छ, १९१६, १९४० र १९४४ मा। कारण थियो विश्वयुद्ध। यसपटक ओलम्पिक रोकिएमा महामारीका कारण रोकिएको यो पहिलो ओलम्पिक हुनेछ। यद्यपि, यो रोकिनु भनेको चानचुने विषय भने होइन।

टोकियो ओलम्पिककै लागि भनेर ब्रोडकास्टहरुले कयौं मिलियन डलर इन्भेस्ट गरेका छन् भने बजार पनि त्यही अनुसारले बन्दै गएको छ। ओलम्पिककै लागि भनेर एथलेटहरु कयौं वर्ष अभ्यास गरेका छन्। जापानले कयौ मिलियन डलर खर्च गरेर पूर्वाधारहरु बनाएको छ।

आइओसीका सिनियर मेम्बर डिक पाउन्डले अवस्था बिग्रिँदै गएको खण्डमा यो पोस्टपोन्ड हुनेभन्दा पनि क्यान्सिल हुने सम्भावना धेरै रहेको बताएका छन्।

त्यस्तै जापानका अर्थशास्त्री र विश्लेषकहरुले पछिल्ला २४ घन्टामा आफूलाई लगानीकर्ताहरुले टोकियो ओलम्पिक सरेको या नभएको खण्डमा कति नोक्सान हुन्छ भनेर जानकारी माग्ने क्रम बढेको बताएका छन्।

जापानले ओलम्पिकका लागि भनेर २५ विलियनभन्दा माथि लगानी गरिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दाबी गरेका छन्।

टोकियोमा अर्थशास्त्री किची मुरासिमाले ओलम्पिक नभएको खण्डमा जापानी अर्थतन्त्रमा ठूलो असर पर्ने बताएका छन्। उनका अनुसार खेलहरु रद्द भएको खण्डमा जापानको जिडिपी तीन महिनाका लागि 'क्वाटर अन क्वाटर' घट्ने विष्लेषण छ।

यद्यपि, आयोजकले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र विश्व स्वास्थ संघठन (डब्लुएचओ) सँग समन्वय गरेर अघि बढिरहेको दाबी गरेको छ। बिहीवार आयोजकसँगको छलफलपछि डब्लुएचओले ओलम्पिक रद्द गर्ने सल्लाह आफूहरुले नदिएको जापानी संचार माध्यमहरुलाई बताएको थियो।

'ओलम्पिक आयोजनाको बारेमा पछिल्लो समय कुनै निर्णय लिइएको छैन,' डब्लुएचओका हेल्थ इमरजेन्स प्रोग्रामका प्रमुख डा माइक रायनले भने।

उनले डब्लुएचओले आयोजनक कमिटीसँग एकदमै नजिक रहेर काम गरिरहेको समेत दाबी गरे। यद्यपि, आइओसीका सिनियर सदस्य डिक पाउन्डले भने कोरोना भाइरसको प्रकोप रहिरहे निर्धारित मितिमै ओलम्पिक आयोजना गरिनु जोखिमपूर्ण हुनसक्ने दाबी गरे।

एथलेटको सुरक्षा चुनौती

ओलम्पिक कमिटीका चिफले जापानी समाचार संस्था क्योदोसँगको कुराकानीमा एथलेटको सुरक्षामा आफ्नो जोड रहेको दाबी गरेका छन्।

'एथलेटको सुरक्षा हाम्रो चासो हो। यसका लागि हामी जापान सरकारबाहेक डब्लुएचओसँग पनि समन्वय गरिरहेका छौं। हामी यो ओलम्पिक निर्धारित मितिमै हुनुपर्छ भन्नेमा दृढ छौं,' उनले भने।

संक्रमण नरोकिए ओलम्पिकका दुई विकल्प

टोकियो ओलम्पिकको शुरु हुने समयसम्म पनि कोरोना भाइरसको प्रकोप नरोकिएमा जापानसँग दुई विकल्प हुनसक्छ। पहिलो ओलम्पिक रद्द गर्ने र अर्को पोस्टपोन्ड गर्ने। तर, डिक पाउन्ड यी दुवै विकल्पमा पनि ठूलो नोक्सानी हुने दावी गर्छन्।

पोस्टपोन्ड गर्न के समस्या छ?

ओलम्पिक चलिरहँदा विश्वभरका अरु ठूला खेल इभेन्ट रोकिएका हुन्छ। अर्थात् समस्या खेल क्यालेन्डरमा आउँछ। आइओसीले हरेक फेडेरेसनलाई ओलम्पिक सेड्युलका हिसाबले क्यालेन्डर दिने गर्छ। यसको कारण यही हो कि विश्वका सबै महत्वपूर्ण खेलाडीहरुले ठूलो प्रतियोगितामा सहभागी बन्न सकुन्।

अर्कोतर्फ ब्रोडकास्टर र स्पोन्सरको चिन्ता पनि प्रसारण नजुधोस् भन्ने हुन्छ। आयोजक, खेलाडी, स्पोन्सर र ब्रोडकास्टर खेल रद्द भएको खण्डमा प्रत्यक्ष प्रभावित हुनेछन्। र, पोस्टपोन्ड गर्न चाहेको खण्डमा सबै खेलकुदका सेड्युल लामो समयका लागि प्रभावित हुनेछन्।

कति घाटा?

ओलम्पिकलाई भव्य आयोजना गर्ने जापानको लक्ष्य हो। यसका लागि रोबर्टबाट भोलेन्टियरिङ गराउने देखि लिएर ओपनिङमा कृत्रिम उल्कापात गराउने सम्मको योजनामा छ जापान। तर, बीचमा आइदियो कोरोना भाइरस। यसले टोकियो ओलम्पिक हुने या नहुने मै पनि प्रश्नचिन्ह उठाइदियो।

पहिलो कुरा त ओलम्पिकको आयोजना गर्नु नै देशको प्रतिष्ठाको विषय हो। आफ्नो सामर्थ्य प्रदर्शन गर्ने अवसर पनि। यसअघि आयोजना गरेको ओलम्पिक भव्यरुपमा सम्पन्न गरेको जापान यस पटक पनि उही रफ्तारमा टोकियो ओलम्पिकलाई विशेष बनाउने योजनामा छ।

यसअघि विश्वयुद्धमा भोगेको पराजयपछि तङ्ग्रिँदै गरेको जापानले सन् १९६४ मै ओलम्पिक भव्य आयोजना गरेको थियो। त्यति बेला जापान ओलम्पिक आयोजना गर्ने पहिलो एसियाली देशसमेत बनेको थियो। उक्त समय सबैभन्दा द्रुत रेल देखाएर विश्वलाई चकित पारेको थियो जापानले। अमेरिकाको चर्चित लाइफ म्यागेजिनले 'बेस्ट ओलम्पिक इन हिस्ट्री' भनेर जापानले आयोजना गरेको उक्त ओलम्पिकको प्रशंसा गरेको थियो।

त्यस्तै प्रतिस्ठाको बनाउने जापानको महत्वकांक्षामा कोरोनाले बाधा पक्कै गरेको छ।

टोकियो ‌ओलम्पिकका लागि जापानको अनुमानित लागत २५ देखि २६ अर्ब डलर हो। यसमध्य ५.७ अर्ब डलर मिडिया राइट्स र स्पोन्सरबाटै जापानले जुटाएको छ। सिएनबिसीका यसमा ७३ प्रतिशत टिभी राइट्सबाट र २७ प्रतिसत स्पोन्सरबाट जुटाएको हो।

जापानले अहिलेसम्म आइपुग्दा करिब १२ दशमलब ६ अर्ब डलर खर्च गरिसकेको बताइएको छ। यति ठूलो लगानीका बाबजुद डिक पाउन्डको अभिव्यक्तिसँगै जापानी एड एजेन्स देत्सुको शेयर पछिल्लो सात वर्षकै सबैभन्दा तल आएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell