PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

विकासमा हातेमालो गर्न सेना तयार छ : प्रधानसेनापति थापा



पहिलोपोस्ट

विकासमा हातेमालो गर्न सेना तयार छ : प्रधानसेनापति थापा

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले विकासमा हातमालो गर्न सेना तयार रहेको बताएका छन्।

विभिन्न कार्यक्रमका लागि प्रदेश १ को भ्रमणमा रहेका थापाले उदयपुरको रौतापोखरी क्षेत्रमा नेपाली सेनाको रणसार्दूल गणद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै भने, 'नेपाली सेना देश र नेपाली जनताको साझा सेना हो। सेनाले देशको रक्षा गर्न र देश विकासमा जनता र सरकारलाई सहयोग गर्दै आएको छ। जहिल्यै पनि विकासमा हातमालो गर्न सेना तयार छ।'

थापाले नेपाली जनताको हितमा काम गर्न सकलदर्जालाई निर्देशन समेत दिए।

रौतापोखरीको ५०० रोपनी क्षेत्रफल जग्गामा नेपाली सेनाले ६ हजार ३०० बिरुवा रोपेको छ। रौतामा गरिएका वृक्षारोपणका बिरुवामा नास्पाति, तेजपात र टिम्मुर प्रजातिका बिरुवा रहेको नेपाली सेना रणसार्दूल गण गाईघाट बोक्सेका प्रमुख भैरवबहादुर थापाले जानकारी दिए।

इटहरीमा ५० शैय्याको सैनिक अस्पताल उद्‍घाटन

यसैबीच प्रधानसेनापति थापाले शुक्रबारै सुनसरीको इटहरीस्थित नवनिर्मित ५० शैय्या क्षमता भएको सैनिक अस्पतालको उद्‍घाटन गरे।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो।

२०७४ कात्तिक १५ गतेबाट निर्माण शुरु भई २०७५ मंसिर १५ गते सम्पन्‍न भएको उक्त सैनिक अस्पताल प्रधानसेनापति थापाले उद्‍घाटन गरेसँगै शुक्रबारबाट संचालनमा आएको छ। उक्त अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओ.टी. लगायतका सेवाहरु संचालनमा ल्याइएको छ।

उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell