PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो, सालकोटको रुट भएर जाने



रासस

मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो, सालकोटको रुट भएर जाने
फाइल तस्बिर

सुर्खेत : मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ।

राजमार्ग सालकोट या बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा त्यस क्षेत्रका बासिन्दा विभाजित थिए। सहमतिअनुसार अब मदन भण्डारी राजमार्ग सालकोटको रुट भएर जानेछ भने खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकको राजमार्गसरहकै स्तरोन्नति गरिनेछ। २० किमि लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकलाई ५० मिटर चौडाइको बनाउन विस्तृत सम्भाव्यता अध्ययनको काम पनि शुरु गरिएको छ। अब यो सडक पनि मदन भण्डारी राजमार्गसरहकै मापदण्डअनुसार बन्नेछ। सालकोट र बाबियाचौर क्षेत्रका बासिन्दाको विवादका कारण पछिल्लो समय सर्भे कार्य रोकिएको थियो।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले खम्बागाडे पुगेर सम्भाव्यता अध्ययनको शुरुआत गरे। विकासमा विवाद गर्न नहुने भन्दै उनले पश्चिम सुर्खेत राष्ट्रिय राजमार्गमा जोडिन सफल भएकामा खुसी व्यक्त गरे। 'निर्वाचनका बेलाको एउटा प्रतिबद्धता पूरा गर्दैछु, राजमार्गसँगै सोही मापदण्डको विद्यापुर जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन र आइईको काम पनि शुरु गरिएको छ', उनले भने, 'विकासमा हामी सहयोगी बनौँ, सानातिना विवाद आएमा तत्कालै बसेर समाधान खोजौँ।' उनले खम्बागाडे–विद्यापुर सडकका लागि आगामी वर्ष बजेट जुटाउने प्रतिबद्धता जनाए। विकास निर्माणमा आउने विवादको समाधानको नेतृत्व गर्न स्थानीय जनप्रतिनिधिलाई रावतको आग्रह थियो।

विवाद समाधानका लागि आयोजित भेलामा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, सालकोट/बाबियाचौर क्षेत्रका बासिन्दाको उपस्थिति थियो। यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रावतले सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक साताभित्र चिकित्सक पठाउने प्रतिबद्धता समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell