
काठमाडौं : मिस नेवाको पन्ध्रौं संस्करणका लागि प्रतियोगीहरु छनोट भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न अडिसनमार्फत् २५ जना प्रतिस्पर्धी छानिएका हुन्।
नेप्लिज फेसन होमको आयोजनामा हुने सौन्दर्य प्रतियोगिता 'मिस नेवा: ११४०'ले नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको प्रवर्द्धनको उदेश्य राखेको बताइएको छ।
अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, नेपाल क्योकूसिन सेइसीन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठ, मिस नेवाः ११३९ नीतु डंगोल, पूर्व मिस नेवाः रीजु मानन्धर तथा सञ्चारकर्मीद्वय त्रिलोचन प्रधान र कृष्ण भट्टराई निर्णायक रहेका थिए। अडिसनमार्फत् छानिएका प्रतिस्पर्धिहरुले काठमाडौं, भक्तपुर, ललितपुर लगायत अन्य जिल्लाको प्रतिनिधित्व गर्नेछन्। उनीहरुले डेढ महिना लामो प्रशिक्षण पाउनेछन्। प्रशिक्षण क्लोज क्याम्प नेपालभाषा, नेवारी कला तथा संस्कृति केन्द्रित रहनेछ।
त्यस्तै आत्मविश्वास विकास, लिडरशिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइने छ।
टाइटल विजेताले एक लाख नगद रुपैयाँ प्राप्त गर्नेछिन्। त्यस्तै फस्ट रनर्स अप र सेकेन्ड रनर्स अपले पनि आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन्।
मिस नेवाः को ग्राण्ड फिनाले वैशाख दोस्रो साता हुनेछ।