
काठमाडौं: नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी २० क्रिकेटमा आफ्नो १०० विकेट पूरा गरेका छन्। थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गतको मलेसियासँगको खेलमा विकेट लिएसँगै लामिछानेको १०० विकेट पूरा भएको हो।
आज भएको खेलमा मलेसिया टस जितेर ब्याटिङमा उत्रिएको थियो। नेपालका लागि सन्दीप लामिछानेले सुरुवाती दुई विकेट लिएका थिए। उनले २.२ र २.३ ओभरमा लगातार विकेट लिएका हुन्। उनले विरन्दीप जगजित सिंह र खिजर हायत दुर्रानीको विकेट लिए। त्यस्तै उनले ८.५ ओभरमा अन्वर अरुद्धिनको विकेट लिए।
विश्वका अधिकांश फ्रेन्चाइज टी २० खेलिसकेका सन्दीपले आजको विकेटसँगै १०० विकेटको कोषेढुंगा पार गरेका हुन्। र, बनेका छन् टी २० मा १०० विकेट लिने पहिलो नेपाली क्रिकेटर।
आइपिएलबाट चर्चित फ्रेन्चाइज क्रिकेटमा प्रवेश गरेका लामिछानेले त्यसयता क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग ब्यास लिग, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग जस्ता प्रतिस्ठित लिग खेलिसकेका छन्।
आफ्नो करियरमा उनले आजको खेलसँग नेपालका लागि ३१ विकेट लिएका छन्।