PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना विरुद्ध 'युद्ध' लड्ने तयारीमा विश्व : नेपाललाई भने चिन्ता पर्यटन वर्षकै



सहयोग रञ्जित

कोरोना विरुद्ध 'युद्ध' लड्ने तयारीमा विश्व : नेपाललाई भने चिन्ता पर्यटन वर्षकै

कोभिड १९ अर्थात् कोरोना भाइरस। चीनको वुहानबाट 'आउटब्रेक' भएको यो भाइरस अहिले विश्वका ५० भन्दा बढी देशमा फैलिसकेको छ। २ हजार ८ सयभन्दा बढी मानिसको यसैका कारण मृत्यु भइसकेको छ। ८३ हजारभन्दा बढी संक्रमित छन्। चीनबाट यो भाइरसले खाडी र युरोपसम्मै यात्रा गरिसकेको छ। त्यसैले विश्व कोरोना भाइरस विरुद्ध 'अन्तिम युद्ध' लड्ने तयारीमा छ।

विश्वलाई थाहा छ, यो भाइरस कति खतरनाक भन्ने। त्यसैले उनीहरु सतर्कता अपनाउँदैछन्, आफ्ना नागरिकको सुरक्षाको लागि। उनीहरुलाई यो पनि थाहा छ कि यो भाइरसको सामाना उनीहरुले कुनै न कुनै रुपमा गर्नै पर्छ। यदि कुनै पनि देशले यस भाइरस विरुद्ध तयारी नगर्ने हो वा भाइरस आफ्नो देशमा आउँदैन भनेर बस्ने हो भने त्यो शताब्दीकै ठूलो गल्ती ठहरिनेमा उनीहरु सचेत छन्।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले विश्वका सबै राष्ट्र कोरोना भाइरसको पहिलो संक्रमणका लागि तयार हुनुपर्ने बताइसकेका छन्। कोरोना भाइरसले देशको सीमा नचिन्ने तर्कसहित उनले भने, 'आफूकहाँ कोरोना भाइरस भित्रिदैन भनेर कुनै पनि राष्ट्र बस्नु हुँदैन। त्यसरी बसे त्यो सबैभन्दा ठूलो गल्ती हुनेछ। कोभिड १९ लाई देशको सीमाको मतलब हुँदैन।'

गेहब्रेयससको यो भनाइले कोरोनाले विश्वभर महामारीको रुप लिने र त्यसबाट सचेत हुनुपर्ने राय दिएको छ। त्यसैले पनि भाइरस संक्रमण देखिएका देशहरु आफ्ना नागरिकलाई बचाउन रणनीति बनाउँदै अगाडि बढेका छन्।

पछिल्लो पटक चीनमा यस भाइरसको संक्रमण घट्दै गएको छ। तर, चीन बाहिर भने यसको प्रकोप बढ्दै गएको छ। जापान, दक्षिण कोरिया, इटाली, इरानका लगायत देशका शहरहरु यही भाइरसको संक्रमणका कारण 'लक डाउन' गरिएको छ। यी राष्ट्रहरुसँगै चीन, हङकङ लगायतका देशबाट आउने यात्रुहरुलाई अन्य देशमा प्रवेश गर्न निषेध गरिएको छ। कतिपय देशले त आफ्नो सीमा नै बन्द गरिसके। हवाई उडान, सडक मार्ग पनि बन्द गरेका छन्।

भारतले चीनबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेश गर्न प्रतिबन्ध नै लगाइसक्यो। भारतले नेपाल हुँदै आउने यात्रुहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिनसक्ने भन्दै हवाई मार्ग हुँदै आउने सबै यात्रुहरुको हेल्थ स्क्रिनिङ थालिसकेको छ। कोरोनालाई 'हल्का' रुपमा लिएकै कारण भारतले नेपालबाट आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो। भारतले प्रस्ट सन्देश दिएको छ - नेपाल कोरोनाको खतरामा नै छ।

तर, नेपाल भने आफूलाई 'कोरोना मुक्त' भएकोमा दंग। के प्रधानमन्त्री, के मन्त्री – नेपालमा कोरोनाको एक जना विरामी पनि छैन भन्दै मख्ख। एकजनामा देखियो ऊ घर फर्किसक्यो। सबैको उत्तर यही। लाग्छ, उनीहरु विश्वस्त छन् कोरोना नेपाल प्रवेश नगर्नेमा।

इरानमा कोरोना विरुद्धको लडाईमा नेतृत्व लिएका उपस्वास्थ्य मन्त्री नै भाइरसबाट संक्रमित भए। हाल उनी क्वारेन्टाइनमा छन्। बिहीवार मंगोलियाका राष्ट्रपति खाल्त्मा बात्तुल्गाले बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरे। चीन भ्रमणमा पुगेका उनको टोली क्वारेन्टाइनमा बसिरहेको छ। चीनले बेइजिङ फर्किएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। कोरोनाले विश्वलाई नै क्वारेन्टाइन बनाउँदै लगेको छ। नेपालले पनि वुहानबाट फर्किएकाहरुलाई खरिपाटीमा क्वारेन्टाइन बनाएर राख्यो तर क्वारेन्टाइनमा पालना गर्नुपर्ने नियम लागू कति भयो? सबैभन्दा पहिला त त्यहाँका स्थानीयलाई सम्झाउन नै नेपाल सरकारले ढिला गर्‍यो।

उता स्थानीयलाई सम्झाउन ढिलो यता भने सतर्कता अपनाउन ढिलो। नेपाल मस्त छ- भ्रमण वर्षकै चटारोमा। जसरी हुन्छ भ्रमण वर्ष सफल पार्ने। कोरोनाको नो टेन्सन।

अझै हाम्रा पर्यटन मन्त्री योगेश भट्टराई के कम? पर्यटन वर्षमा पर्यटक ल्याउन 'विश्वसामु नेपाल कोरोना मुक्त देश भनेर प्रचार गर्ने' कुरा गरिरहेका छन्। यिनलाई कसले यस्तो सल्लाह दिन्छ?

अस्ट्रेलिया जलिरहेको बेला सिड्नीमा पुगेर पर्यटन वर्षको प्रचार गर्ने पनि उनै थिए। पूर्व निर्धारित कार्यक्रम भएता पनि त्यहाँ उनको नियत माथि प्रश्न उठेकै हो।

अहिले फेरि उनी त्यही गल्ती गरिरहेका छन्। त्यसैले धेरैको माग छ – पर्यटन वर्ष यही स्थगित गरौं।

कारण- नेपाल भ्रमण वर्षलाई सफल बनाउन चिनियाँ पर्यटकको आगमनकै भर। भारतपछि नेपालले चीनबाट सबैभन्दा धेरै पर्यटक आउने अनुमान गरेको थियो। तर, कोरोनाले यसलाई धक्का दियो।

कोरोना भाइरसको संक्रमणको डरले विश्वले चीन यात्रामा प्रतिबन्ध लगाइरहेको छ। चीनबाट भाइरस फैलिएका अन्य देशमा पनि प्रतिबन्ध लगाइएको छ। इरानबाट आएकाहरुमा पाकिस्तान र अफगानिस्तानमा संक्रमण देखिएपछि उनीहरुले इरानसँगको सीमा र उडान नै रद्द गरे। इटालीको सीमा पनि बन्द गर्नुपर्ने माग उठिरहेको छ। साउदी अरेबियाले पर्यटकहरुलाई मक्का मदिना प्रवेशमा नै रोक लगाइसकेको छ।

हाम्रो सीमा भने सबैका लागि खुल्ला छ। विमानस्थलमा स्क्रिनिङ मेसिन राखिएको छ। तर, आउनेहरु निर्वाध रुपमा कुनै पनि परीक्षण बिना नेपाल प्रवेश गरिरहेको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहेका छन्। सीमा नाकाबाट कति कसरी भित्रिए, थाहा छैन। यस्तै यदि कोहीमा भाइरसको संक्रमण देखिहाले पनि उसको उपचारका लागि के गर्ने भन्ने तयारीमा नेपाल देखिँदैन। किन भने नेपाल प्रस्ट छ - उसलाई कोरोनाले छुँदैन। चीनको वुहानबाट नेपालीलाई एयर लिफ्ट गरायो। सरकारले मानवीयता देखाएको भन्दै प्रशंसा कमायो पनि। तर, भाइरसविरुद्ध लड्न भने संवेदनशील देखिएन। त्यसैले आम नागरिकहरुलाई चिन्ता छ – नेपालमा कोरोनाको भविष्यलाई लिएर।

ठमेल चिनियाँ नागरिकले भरिभराउ हुन्थ्यो। अहिले मास्क लगाएका थोरै संख्यामा चिनियाँहरु देखिन्छन्। उनीहरु देखेपछि त्यहाँ रहेका अरु तर्सिन्छन्। भ्रमण वर्षका नाममा सबैका लागि देश खुल्ला त गर्‍यो नेपालले तर आफै असुरक्षित बन्दै गरेको महसुस गरिरहेको छैन।

निर्वाधहरुमा चिनियाँहरु हिँड्दुल गर्दा ठमेलमा आउने अरु देशका पर्यटकहरुमा समेत त्रास उत्पन्न भएको ठमेलका व्यवसायीहरु बताउँछन्।

चिनियाँहरु आफ्नै देशमा भाइरसविरुद्ध युद्ध लडिरहेका छन्। यता योगेश भट्टराई भने चिनियाँ पर्यटकलाई नेपाल ल्याउन सक्ने कल्पनामा छन्। कोरोना मुक्त देश घोषणा गरे धेरै संख्यामा चिनायाँ पर्यटक नेपाल भित्रिने उनको मत छ। उनको यो महत्वकांक्षी गल्तीप्रति धेरैले प्रश्न उठाइरहेका छन्।

यो त चीनको कुरा। चीनबाट अन्य राष्ट्रहरुमा समेत यस भाइरसले ठूलै महामारीको सिर्जना गरेको छ। जापान, दक्षिण कोरिया, इटाली र इरान अहिले यस भाइरसविरुद्ध लडिरहेका छन्। यी देशहरुमा पनि धेरै संख्यामा नेपालीहरु रहेका छन्। यी देशहरुबाट निर्वाध रुपमा मानिस नेपाल भित्रिरहेका छन्। विमानस्थलमा सावधानी नअपनाएको आरोप सरकारमाथि लाग्दै आएको हो।

विश्वभर कोरोनाको संक्रमण फैलिँदै जाँदा र नेपालले यस भाइरस विरुद्ध लड्न ठोस तयारी नगर्दा विश्वमा पक्कै पनि सकरात्मक सन्देश गएको छैन।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले दिएको चेतावनी 'नेपाल' जस्तै राष्ट्रलाई नै हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनालाई हल्का रुपमा लिएको आरोप लाग्दै आएको छ। पछिल्लोसमय अमेरिकामा पनि कोरोना संक्रमित पहिचान भइसकेका छन्।

भाइरसका विकराल अवस्था सिर्जना हुनसक्ने डब्लुएचओले चेतावनी दिइसक्दा पनि नेपालले पर्यटन वर्षलाई कायम राख्न नहुने मत बढ्दै गएको छ। यद्यपि, भ्रमण वर्ष रद्द गरेर मात्रै कोरोना भाइरसको संक्रमण रोकिने भने होइन। भ्रमण वर्ष सफल बनाउन लगाएको आँट कोरोना विरुद्ध लड्न प्रयोग गर्नुपर्ने माग राख्ने जमात देखिएको छ।

चीन बाहिर अन्य देशमा रहेका नेपालीहरुको अवस्थाका साथै त्यहाँबाट नेपाल घुम्न आएका र फर्किएका नेपालीहरुको बारेमा सरकार सचेत हुनुपर्छ। भ्रमण वर्षको लागि भनेर धेरै संख्यामा पर्यटकहरु नेपाल भित्रिरहेको अवस्थामा विमानस्थलमा अपनाइएको असावधानीले ठूलै संकट निम्तिन सक्छ।

तर, कोरोना विरुद्ध लडिरहेका राष्ट्रहरु कै नागरिकलाई लक्षित गर्दै नेपालको ढोका निर्वाध रुपमा खुल्ला नै गरिरहेन मुडमा देखिन्छ सरकार। यदि, मन्त्री भट्टराईले भने झै कोरोना मुक्त राष्ट्र भनेर विश्वभर प्रचार गरेर पर्यटन वर्षमात्रै सफल बनाउन लागे गेहब्रेयससले भने झै त्यो नेपालको सबैभन्दा ठूलो गल्ती हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell