
- नारायण ढुङ्गाना-
काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो। मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठूलो मारमा पर्थे। सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए। उपत्यकाको मुख्य सडकमा अहिले त्यो समस्या केही हदसम्म हराएर गएको छ।
काठमाडौं महानगरपालिकाले ब्रुमरको सहायतामा नियमित धुलो सफा गरिरहेको छ। प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास र शहरी विकास मन्त्रालयले शहरको सौन्दर्यकरणका साथै अन्य योजना सञ्चालन गरिरहेको छ। वषौँदेखि बिग्रिएका ट्राफिक बत्तीसमेत सञ्चालनमा आएका छन्।
उपत्यकाको मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन। भएका खाल्डा पुर्ने काम जारी छ। सडक चिल्ला र आकर्षक बन्दै छ। ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ। अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा देखिने गरी सुधार आएको छ। यद्यपि भित्री र शाखा रोडमा समस्या यथावत छ।
सरकारले उपत्यकाको भौतिक पूर्वाधार, यातायात र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम अघि बढाएकाले यो सम्भव भएको हो। सङ्घीय राजधानी काठमाडौंको यातायात व्यवस्थापनमा देखिएका समस्याको पहिचान गर्दै त्यसको समाधान गर्ने काममा सरकारको विशेष ध्यान छ। विदेशी विशिष्ट पाहुना र पर्यटकले पहिलो साक्षत्कार गर्ने तथा धेरैजसो अन्तर्राष्ट्रिय सभा-सम्मेलन हुने भएकाले व्यवस्थित र सुन्दर बनाउन काठमाडौं केन्द्रीत योजना अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए।
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने मुलुकको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधारको विकास महत्वपूर्ण आधार हो। पूर्वाधार निर्माण विना विकास र समृद्धिको चाहना सकिँदैन।
नीतिगत र साङ्गठनिक सुधार गरी विकास निर्माणलाई तीव्रता दिएको बताउँदै मन्त्री नेम्वाङले भने, ‘विकासको आधार तयार पार्ने अभियानमा सरकार छ, यो वर्षको प्राथमिकतामा उपत्यका हो, उपत्यकाको ‘व्यूटिफिकेसन’मा हाम्रो बढी जोड छ।’
काठमाडौं उपत्यकाको कतिपय करिडोर खुलिसकेका छन् भने कतिपय निर्माणाधिन अवस्थामा छन्। उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम भइरहेको मन्त्रालयले जनाएको छ। पछिल्लो १०० दिनमा मात्रै सरकारले काठमाडौँ उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको छ। हिउँदमा कालोपत्र गरिने समय नभएपनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ। उपत्यकाको करिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति छुट्टै छ।
मन्त्रालयका अनुसार काठमाडौंको कोटेश्वर चोकमा वर्षौँदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन समाधानका रुपमा सडक चौडा पार्ने प्रक्रिया थालिएको छ। सडक चौडा पार्न चोकको दक्षिणतर्फको जग्गा प्राप्त भइसकेको र उत्तरतर्फको जग्गा अधिग्रहणको प्रक्रियामा छ। मनोहरा कोरिडोरको सडकलाई प्रयोगमा ल्याई कोटेश्वर चोकमा आउने सवारीलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन निर्माण कार्य थालिएको मन्त्रालयले जनाएको छ।
आफ्नो एक सय दिनको उपलब्धी बारेमा जानकारी दिँदै मन्त्री नेम्वाङले उपत्यकाको चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो, नक्खुचोकमा फ्लाई ओभरका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम थालिएको बताए। सूर्यविनायक-धुलिखेल सडकखण्डलाई विस्तार गर्न र जडिबुटी-कोटेश्वरको जामको दीर्घकालिन समाधानका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले बताए। काठमाडौं उपत्यकाको १७ वटा चोकमा ट्राफिक बत्ती जडान गरिसकिएको छ भने छ वटामा असार महिनाभित्रमा जोड्ने योजना सरकारको छ।
यस्ता चोकमा हुने ट्राफिक जाम हटाउन ‘ईन्टेलिजेन्ट ट्राफिक प्रणाली’ प्रविधि अपनाउन आवश्यक परामर्शदाता छनोटको काम थालिएको छ। पैदल यात्रुको सुरक्षित यात्राका लागि चक्रपथको बालकुमारी, सातदोबाटो, एकान्तकुनामा ‘फुटओभर ब्रिज’निर्माण सकिएको तथा बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माणको डिजाईन सम्पन्न भइ ठेक्का प्रक्रियामा पुगेको छ।
उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्डको कामसमेत अघिबढेको मन्त्रालयले जनाएको छ। कलङ्की–महाराजगञ्ज सडकखण्ड विस्तारको प्रारम्भिक प्रक्रिया शुरु भएको छ। सो खण्डमा रुख हटाउने र विजुली तथा टेलिफोनका तार स्थानान्तरणको चरणमा छ। केही ठाउँमा जग्गा प्राप्ति गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया थालिएको छ। उपत्यकाको तीनकुने–एयरपोर्ट–तिलगङ्गा सडकखण्डलाई आठ लेनमा स्तरोन्नति गर्ने कामसमेत सरकारले अघि बढाएको छ। उक्त सडकको स्तरोन्नतिका लागि डिपिआरको तयारीमा सरकार लागेको मन्त्री नेम्वाङले बताए।
शाखा सडकमा समेत सरकारको ध्यान
सरकारले उपत्यकासँग जोडिने शाखा सडकसमेतलाई उत्तीकै प्राथकिता दिएको छ। उक्त क्षेत्रका सडकको पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ। मन्त्री नेम्वाङले उपत्यका जोड्ने उक्त सडकको स्तरोन्नति र कालोपत्रका लागि आवश्यक बजेट विनियोजन गरी ठेक्का व्यवस्थापनको चरणमा पुगेको जानकारी दिए।
सडकलाई सुरक्षित र सौन्दर्यकरण गर्न फुटपाथ निर्माण, रेडिङ, जेब्रा मार्किङ तथा रङरोगनको कामसमेत जारी छ। काम सामान्यजस्तो लागे पनि सौन्दर्यकरणले उपत्यका ओर्लिने स्वदेशी वा विदेशीमा आकर्षण भाव पैदा गर्छ। मुलुकको पहिचानसँग जोडिने भएकाले पनि उपत्यकालाई विशेष जोड दिइएको जनाइएको छ।