
काठमाडौं: टोकियो ओलम्पिक २०२० अन्तर्गत एसिया/ओसियाना क्षेत्रको क्वालिफाइ खेलहरुका लागि नेपाली खेलाडी आज जोर्डन जाँदैछन्।
यसअघि फेब्रुअरी ३ देखि १४ सम्म चीनको वुहानमा हुने भनिएको यो प्रतियोगिता फैलँदो कोरोनाका कारण बक्सिङ टास्क फोर्सले जोर्डनको अम्मानमा खेल सारेको थियो।
नेपालबाट प्रतिस्पर्धाका लागि पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजी समूहमा मिनु गुरुङ क्वालिफायर्समा सहभागिता जनाउन आज बेलुकी कतार एयरवेजको फ्लाइटबाट अम्मान प्रस्थान गर्नेछन्। यी दुवै जना खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन्। यो प्रतियोगिताबाट महिला ५७ केजीमा ४ जना र पुरुष ६३ केजीमा ६ जना खेलाडीहरु छनोट हुनेछन्।
जोर्डन जाने तयारीमा रहेका सनिलले आफूले राम्रो तयारी गरेको उल्लेख गर्दै सुखद नतिजा ल्याउन चाहेको बताए।
'तयारी एकदम राम्रो भएको छ। साग सकिएपछि मात्र ५ दिन बिदा लिएर यही प्रतियोगिताका लागि जुटेका छौं,' आत्मविश्वासी हुँदै सनिलले सुनाए, 'प्रतियोगिता त अगाडि नै थियो तर कोरोना भाइरसका कारण पछि सरेपछि अझ अभ्यास गर्ने मौका मिल्यो।'
हालसम्म दुईपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका उनले यसपटक यसअघिका कमजोरी सच्याउँदै राम्रो प्रदर्शन गर्ने योजना बनाएका छन्।
'खेलाडीको लक्ष्य भनेकै ओलम्पिक खेल्ने भन्ने हुन्छ। म पनि यो प्रतियोगितामा राम्रो प्रदर्शन गरेर ओलम्पिकमा स्थान बनाउन चाहन्छु,' उनले भने।
नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले बक्सिङमा नेपाली खेलाडीहरुले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको दाबी गर्दै अम्मानमा पनि खेलाडीहरुले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताए। त्यस्तै राखेप सदस्यसचिव रमेशकुमार सिलवालले विदेशदेखि प्रशिक्षक ल्याइरहेको र अझ दूरदराजका प्रतिभाशाली खेलाडीहरुलाई पनि अगाडि ल्याउने आफ्नो योजना रहेको बताए।