
काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको छ। १ सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो।
टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो।
मलेसियाका लागि अजिज सइद मुबारकले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ५१ रन बनाउँदा मोहम्मद अन्वर अरुद्दिनले ३१ रन र अहमेद फैज मोहम्मदले ३० रन बनाए। त्यस्तै अमिनुद्दिन राम्लेले अभिजित २९ रन बनाएका थिए।
यता नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको समान सर्वाधिक ३८ रन बाहेक अरु ब्याट्सम्यान खासै चल्न सकेनन्। यसबाहेकको पवन सर्राफले १९ रन बनाए।
अर्कोतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा अभिनास बोहोराले दुई र करण केसीले एक विकेट लिए। आजको खेलमा विकेट लिएसँगै सन्दीप लामिछानेको १०० औं विकेट पनि पूरा भएको छ। सन्दीपले २.२ र २.३ ओभरमा लगातार २ विकेट र ८.५ ओभरमा अर्को विकेट लिएका थिए। उनले विरन्दीप जगजित सिंह, खिजर हायत दुर्रानी र अन्वर अरुद्धिनको विकेट लिए।
त्यस्तै अभिनास बोहोराले मोहम्मद आरिफ जमल्दिन र अहमेद फैजलाई आउट गराए। त्यस्तै करण केसीले अमिनउद्दिन रामलेलाई पभेलियन फर्काएका थिए।