PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

संकलन र भण्डार केन्द्र नहुँदा खेर गयो कर्णालीको जडिबुटी



पी बी खड्का

संकलन र भण्डार केन्द्र नहुँदा खेर गयो कर्णालीको जडिबुटी

सुर्खेत : जडिबुटीको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा एउटा पनि संकलन र भण्डार केन्द्र छैन। प्रदेशमा जडिबुटी संकलन र भण्डार केन्द्र नहुँदा समस्या हुने गरेको छ। पर्याप्त जडिबुटी पाइने भएपनि अहिलेसम्म सरकारी स्तरबाट संकलन र भण्डारणका लागि कुनै पहल नहुँदा जडिबुटी खेर जाने र विदेशमा अवैध निकासी समेत हुने गरेको छ।

कर्णालीमा एक सय ४७ जातको बुडिबुटी पाइने अनुमान गरिएपनि प्रशोधन त परको कुरा संकलन र भण्डार गर्ने ठाउँसमेत छैन। भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ भने यहाँका अधिकांश जडिबुटी बाह्य देशमा निकासी समेत हुँदै आएको छ। कर्णालीकै व्यवसायीले निजी लगानीमा संकलन गर्ने गरिएपनि जडिबुटी सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती भएको व्यवसायी बताउँछन्।

‘सरकारले जडिबुटी संकलन र प्रशोधनमा ध्यान नदिँदा यहाँको जडिबुटी विदेशमा कौडीको भाउमा जान्छ’, कर्णाली जडिबुटी उत्पादक सहकारी संस्था तथा प्रशोधन उद्योग, कालिकोटका अजबहादुर गिरीले भने, ‘आफ्नै लगानीमा गरिएको संकलन र प्रशोधनले जति गुणस्तर कायम हुनुपर्ने त्यो राख्न भने चुनौती हुन्छ।’

विभिन्न जिल्लामा पाइने जडिबुटीको केन्द्रका आधारमा संकलन केन्द्र स्थापना गरी प्रशोधन गर्नुपर्ने उनी बताउँछन्।

‘आफ्नै घरआगँनमा जडिबुटी सडेर खेर जाने अवस्थामा छन्। दुई/तीन वटा जिल्लाबाट उचित संकलन गरेर प्रशोधन गर्न सरकारको ध्यान जान आवश्यक छ,’ उनले भने।

यी हुन् औषधालयले बनाउने औषधी

प्रदेश आयुर्वेद औषधालयले कर्णालीमै पाइने जडिबुटीबाट केही औषधिसमेत उत्पादन गर्दै आएको छ। औषधालयले एउटै औषधि बनाउन विभिन्न कच्चापदार्थहरुको समिश्रणबाट औषधि बनाउने गर्छ। औषधालयले कर्णालीमा पाइने जडिबुटी र बाहिरबाट केही ल्याएर १२ वटा औषधि उत्पादन गर्दै आएको छ।

औषधालयले अश्वगन्धा बनाउन अश्वगन्धा लगायतको समिश्रण गरी बनाउँछ भने, अमलाबाट आमलकी, हर्रो-बर्रो तथा अमला मिसाएर त्रिफला बनाउँदै आएको छ। यस्तै, हिम्वास्टक औषधी बनाउन हिंग, मरिच, सुठो लगायतका कच्चा पदार्थ मिसाइन्छ। अविपतिकरमा निशोथ, त्रिफला, तेजपत्ता, अलैँची र ल्वाङ्ग मिसाइने गरेको छ।

कुरीलोबाट शतावरी तथा घोडमर्चा, गन्नाइनो, तुलसी, लेमन ग्रास, अलैँची, गुर्जो आदी मिसाएर अमृत पेय र देवदारु, धुदेलो, अर्डर तेल आदीबाट बेदनाशामक तेल बनाउने गरिएको छ। औषधालयले निम, चिराईतो आदीबाट पित्तहर तथा हर्रो, कालोनुन आदीबाट विरेचक र बेल, धाँईरोको फुल, ज्वानो, धनिया, जीरा आदीबाट विल्वपाक, तेजपत्ता, अलैँची, लगायतबाट सित्तोपलादि औषधी बनाउँदै आएको छ।

कर्णाली सुहाउँदो नित निर्माण गरेर जडिबुटीको बजारीकरण गर्नुपर्ने औषधालयको भनाइ छ। सरकारले स्थानीय आमनागरिकमार्फत जडिबुटीको संरक्षण र खेती गर्नतर्फ ध्यान दिनुपर्ने औषधालयका प्रमुख डा शंकरप्रसाद रिजालको भनाइ छ।

कर्णाली सुहाउँदो नीति निर्देशिका बनाउनुपर्ने, कर्णालीका विभिन्न जिल्लामा संकलन, भण्डारण स्थापना गर्नुपर्ने, कर्णालीको माथिल्लो भेग र तल्लो भेग मिलाएर प्रशोधन केन्द्रको स्थापना गरिनुपर्ने उनले बताए। प्रशोधन गरेरमात्रै फार्मेसीतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

निमार्णाधिन संकलन तथा प्रशोधन केन्द्र अलपत्र 

सुर्खेत उद्योग वाणिज्य संघकै पहलमा तीन वर्षअघि निर्माण कार्य शुरु गरिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अहिले अलपत्र अवस्थामा छ। कर्णालीको जडिबुटी अन्यत्र लैजाने बाध्यता सल्टाउन संकलन तथा प्रशोधन केन्द्र निर्माणको काम अघि सारेको थियो।

साढे ६ कट्ठा जग्गामा बन्न लागेको झण्डै पाँच सय क्विन्टल क्षमताको प्रशोधन केन्द्र निर्माण गर्न साढे तीन करोड लागत लाग्ने अनुमान छ। ७० प्रतिशत काम सकिएको केन्द्रको बजेट अभावले बाँकी काम गर्न नसकिएको उद्योग वाणिज्यसंघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतको भनाइ छ।

उनले भने, ‘७० प्रतिशत काम सकिसकेको छ। बजेट अभाव हुँदा प्रदेश सरकारले ५० लाख दिएको छ। त्यो बजेटले पनि नपुग्ने देखिन्छ। बजेट खोजिरहेका छौँ। निर्माण सकिएपछि विज्ञ टोली ल्याएर कुन जडिबुटीबाट कुन औषधी बन्छ भन्ने विषयमा अध्ययन गर्छौँ।’

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणको काम पूरा गर्न ५० लाख रुपैयाँ दिएको छ। तथापी टेण्डर प्रक्रियामा ढिलाइ भएको अध्यक्ष रावतको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell