वीरगंज : नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ३ समितिले वीरगंजको नगरसभा गृहमा आयोजित छलफल कार्यक्रम देउवा समूहले बहिस्कार गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमा एक जना पनि देउवा पक्षका नेताहरुको सहभागिता थिएन।
कार्यक्रममा कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, पूर्वसभासद अनिल रुगंटा, रमेश रिजाल, अजय चौरसिया, जनार्दन सिंह क्षेत्रीलगायत नेताहरुको सहभागिता थिएन।
‘वर्तमान राजनैतिक परवेशमा नेपाली कांग्रेसको चुनौतीहरु र समाधान’ विषयक छलफल कार्यक्रममा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीता यादव, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र सुजाता कोइराला, पर्साका नेता राजेन्द्रबहादुर आमात्यलगायत नेताहरुको सहभागिता थियो।
कार्यक्रममा सहभागिता बारे पर्सा सभापति अजय द्विवेदीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन। उनका एक जना निकटतम नेताका अनुसार पहिलेदेखि सहमति र छलफल नगरी अचानक कार्यक्रम राखिएकोले देउवा गुटले कार्यक्रममा नजाने निर्णय गरेको बताए। कांग्रेस नेता तथा पूर्वसांसद अनिल रुंगटाले आफू काठमाडौं भएको र नबोलाइएकाले कोही पनि नगएको हुन सक्ने बताए।
रमेश रिजालका निकटतम तथा पर्सा क्षेत्र नम्बर ४ (ख)का प्रदेश सांसदका उम्मेद्वार नविन सिंहले वीरगंजको नगर सभामा भइरहेको कार्यक्रम पार्टीको कार्यक्रम नभई एउटा समूहको कार्यक्रम भएकोले आफू नगएको बताए।
पर्साबाट प्रदेश सांसदमा निर्वाचित राजेश्वर साह तेलीले देउवा गुटले बहिस्कार नगरेको दावी गरे।
उनले भने, ‘जसको इच्छा लाग्यो, गयो। जसको लागेन त्यो गएन।’
कार्यक्रमको अध्यक्षता पर्सा ३ का क्षेत्रीय अध्यक्ष लोकमान अन्सारीले गरेका थिए।