
कास्की : गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताएका छन्।
गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिवार पोखरामा सम्बोधन गर्दै उनले सरकारको मात्र दाबी नभई अन्तर्राष्ट्रिय सङ्घसंस्थासमेतले विगतको भन्दा सुशासनमा राम्रो भएको निष्कर्ष निकालेको उल्लेख गरे।
उनले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालसमेतले आफ्नो नक्सा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको बताउँदै भारतसँग भूमि फिर्ताका लागि सचिवस्तरीय छलफल तथा कूटनीतिक पहल भइरहेको जानकारी गराए।
उनले भने, ‘हाम्रातर्फबाट समेत नेपाली भूमि फिर्ताका लागि कूटनीतिक लविङ जारी राखेका छौँ, नेपालको सम्पूर्ण भूमि समेटेर नक्सा छाप्ने प्राविधिक काम सम्पन्न भएको छ, त्यसलाई छिट्टै सार्वजनिक गर्दछौँ।’
सरकारले सीमामा रहेका ८७ चेकपोस्टलाई बढाएर १०४ पुर्याएको बताउँदै उनले यस वर्षभित्रमा २०० भन्दाबढी पुर्याउने र नेपालको उत्तरी नाकासमेतमा चेकपोस्ट वृद्धि गर्ने लक्ष्य रहेको स्पष्ट पारे। सरकारले चालु आर्थिक वर्षलाई विकासको प्रारम्भिक वर्षका रुपमा मानेर आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेकाले देश विकासको गतिमा अघि बढ्ने उनको भनाइ छ।
गृहमन्त्री थापाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने तथा पार्टीमा बहस हुनु स्वभाविक रहे पनि कुनै विवाद नरहेको स्पष्ट पारे। शुक्रवारबाट शुरु भएको दुईदिने गोष्ठीमा प्रदेश सरकारका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेना गरी तीनै सुरक्षा अङ्गका प्रतिनिधिको सहभागिता रहेको छ।