PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एपिएफलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम-११ पहिलोपटक खप्तड गोल्डकपको फाइनलमा



एम बम

एपिएफलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम-११ पहिलोपटक खप्तड गोल्डकपको फाइनलमा

कैलाली : आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब पहिलो पटक धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ। धनगढी रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपिएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो।

सुदूरपश्चिम-११ को जितमा बिक्रम सिंह ठकुरीले दुई गोल गरे। एपिएफका आशिष लामाले एक गोल फर्काए।

रोमान्चक खेलको तीनै गोल पहिलो हाफमा भएको थियो। घरेलु समर्थकको साथ पाएको सुदूरपश्चिम-११ ले एपिएफ विरुद्ध खेलको आठौँ मिनेटमा अग्रता बनायो। बिक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

उनले एपिएफका दुई डिफेन्डरलाई छलाउँदै गोल गरे। खेलको ११ औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमलाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलको २४ औं मिनेटमा एपिएफका आशिषले गोल गर्दै खेल २–१ मा ल्याए। डिबक्सको अगाडि प्राप्त बललाई आशिषले दुई डिफेन्डर र आयोजकका गोलरक्षक सुजित विसीलाई बिट गर्दै गोल गरे।

दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल सुदूरपश्चिम-११ ले २-१ ले आफ्नो बनायो। यससँगै सुदूरपश्चिम-११ ले पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। प्रतियोगिताको दोस्रो संस्करणमा भने सुदूरपश्चिम एपिएफसँग नै पराजित भएको थियो।

यस पटक भने एपिएफसँग बदला लिँदै सुदूरपश्चिम-११ फाइनल पुग्न सफल भयो। खेलको म्यान अफ द म्याच सुदूरपश्चिम-११ का बिक्रम चुनिए। उनले नगद १० हजार सहित ट्रफी पाए।

अब, उपाधिका लागि आयोजक सुदूरपश्चिमले थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग मंगलवार खेल्नेछ। आइतवार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा थ्री स्टार र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell