PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सरकारको निर्णय



पहिलोपोस्ट

कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सरकारको निर्णय
तस्बिर : प्रधानमन्त्री कार्यालय

काठमाडौं : विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिममा राखेपछि सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा शनिबार बालुवाटारमा बसेको मन्त्री, कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना नेपाल भित्रिन नदिन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा स्वास्थ्य, गृह, अर्थ, पर्यटन र शिक्षा मन्त्री सदस्य रहनेगरी उच्चस्तरीय समिति गठन गरेको छ।

समितिका सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार कोरोना रोकथामका लागि समितिले अध्ययन गरेर आवश्यक निर्णय लिनेछ।

समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकमा संक्रमणको अवस्था अध्ययन गर्ने र आवश्यक परे हवाई उडान तथा अन्य सेवा रोक्ने, सीमा बन्द गर्ने लगायतको निर्णय गर्ने अख्तियारी पाएको छ। नेपालको भारतसँग खुला सीमाना कारण जोखिम झनै बढेको छ।

बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिकित्सक र उपकरणको व्यवस्था गरेर बाह्य मुलुकबाट आउने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए। 'कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आवश्यक उपकरण, ल्याब, किट तथा औषधिको व्यवस्था मिलाउनुस्,' ओलीले बैठकमा निर्देशन दिए,'संक्रमण राेक्न निगरानी, सचेतना र सुरक्षाका उपाय पनि अवलम्बन गर्नुस्।' ओलीले सीमा नाकामा समेत चेकजाँचको व्यवस्थासहित उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए।

चीनको वुहानमा देखा परेको कोरोना भाइरस अहिले संसारका ५० भन्दा बढी देशमा संक्रमण देखिएको छ। चीनको दक्षिणमा रहेको नेपालमा भने अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन।

यसैबीच कोरोनाको संक्रमणका कारण पर्यटन मन्त्रालयले विदेशमा भ्रमण वर्ष २०२० को प्रचारप्रसार कार्यक्रम तत्काललाई स्थगित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell