PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

अनि पत्रकारिताबाट राजनीतिमा होमिए प्रकाश...



प्रकाश भण्डारी

अनि पत्रकारिताबाट राजनीतिमा होमिए प्रकाश...

हँसिलो अनुहार। छरितो ज्यान। कालो जुत्ता कालै पाइन्ट र खैरो रङ्गको ज्याकेट। पुल्चोकमा एक रेस्टुरेन्टको बाहिरको खाली ठाउँ। टेबुलमा कुइना राखेर मोबाइल चलाउँदै घरी बाहिर सडकमा, घरी मोबाइलमा हेर्दै।

कसैलाई पर्खिरहेजस्तो।

मोबाइल खल्तीबाट निकाल्नै लाग्दा 'ए नमस्ते तपाईँ नै हो' यति भनेर बस्न इसारा गर्छन् -प्रकाशचन्द्र परियार।

साझा पार्टीका सचिवालय सदस्य। यसअघि नेपाली कांग्रेसको महासमिति सदस्य र त्यसअघि पत्रकार तथा मानव अधिकारकर्मी। परियारले डेढ दशकमा बनाएको परिचय यही हो।

सामान्य सोधपुछ काठमाडौँको बसाइ इत्यादिबारे बुझ्छन्। सायद् पहिलो पटकको भेट भएकोले आफूसँग गफगाफ गर्न सजिलो होस् भनेर होला। र, माहोल बनाउँदैछन्।

सोध्ने पालो हाम्रो हुँदैछ।

काठमाडौँको बसाइ, परिवार बुवा आमा श्रीमती बहिनी सबैबारे बेलिबिस्तार लगाइरहेका बेला बायाँतिर टाउको घुमाउँछन्। केही बोल्दैनन्।

कुहिना टेबुलमाथि राख्दै चोर औँला आँखामा पुर्‍याउँछन् र आँसु पुच्छन्। 'त्यो दिन अलिक दुखद नै घटना भयो', उनी यति बोल्छन् र फेरि रोकिन्छन्। अघिसम्मको हँसिलो अनुहार एकाएक मलिन बन्छ। टिलपिल आँसु हुँदै उनी घटनाबारे बोल्न थाल्छन्।

२०६२/६३ सालतिर परियार कान्तिपुर टेलिभिजनमा राजनीति र सामाजिक विषयमा फिचर रिपोर्ट बनाउँथे। आन्दोलन हत्या हिंसाका घटनाका समाचारले प्रमुखता पाउँथे अरूभन्दा। उनले कयौँ समाचार बनाए यस्तै विषयका। आफूले बनाएका समाचार प्रमुखताका साथ प्रसारण हुँदा दंगै पर्थे। माओवादी युद्धको चरम समय भएकाले कुन बेला कहाँ भीडन्त हुन्छ कसरी समाचार पुष्टि गर्ने भन्नेमै उनी र उनको टिम लागिपरेको हुन्थ्यो। राजनीति र युद्धका समाचार हेर्दै वाक्क परेका दर्शकलाई उनी सामाजिक विषयमा फिचर तयार पारेर देखाउँथे। कहिलेकाहीँ त दुइटा रिपोर्ट पनि प्रसारण हुन्थे परियारका।

२०६२ चैतमा उनी बिदामा इटहरी घर जान्छन्। घरमा शीतलमा बसेर आमा-बुवासँग गफ गरिरहेका बेला कान्तिपुर टिभीबाट गोविन्द चालिसेको फोन आउँछ परियारलाई, 'जनकपुरमा गोली चल्यो रे त्यहाँ तपाईँको मान्छे को छ। बुझ्नुपर्‍यो। फोनमा चालिसे यति भन्छन् उनलाई। बुझ्दै जाँदा गोली चलेको मात्रै होइन गोली त उनको नजिकै आइपुग्यो। गोली परिवारसम्मै आइपुग्यो।

उनका बुवाले त्यही बेला भने, 'अब तेरो दाहिने हात भाँचियो।'

मान्छे मारिएका बीभत्स दृश्यका समाचार बनाउने उनलाई समाचारका दृश्यले केहीबेर भावुक बनाउँथ्यो। तर अब उनलाई यस्तो घटनाले भावुक मात्रै होइन आँसु रोक्नै नसक्ने बनाइदिएको छ। भाइको प्रसंग आयो कि ‌आँसु रोक्न सक्दैनन् प्रकाश।

जनकपुरको जनक चोकमा गर्मी छ। मध्ये चैतमा दिउँसो बाहिर हिँडडुल गर्न कठिन। चौतारा, रुखका फेद र आइसक्रिम पसलमा भीड छ अन्यत्रभन्दा। बेलाबेला तातो हावा चल्छ। प्रकृतिले तराइको झल्को दिन्छ। मान्छेहरू खुलेर राजनीतिका गफ गर्न सकिरहेका छैनन्। चोक चौतारा र चिया पसलमा भेटिएकाहरूका अनुहारमा युद्धको त्रास छ।

११ चैत २०६२ दिउँसो २ बजे। चिया पसलमा बसेर गफिँदै थिए प्रकाशका भाइ दयाराम र साथी रामचन्द्र यादव। त्यही बेला प्रहरीको गोली चल्यो। रामचन्द्रको घटनास्थलमै मृत्यु भयो। गम्भीर घाइते दयारामको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चैत १५ गते निधन भयो।

घटना सुनाइरहँदा बेलाबेला भक्कानिन्छन् परियार।

प्रकाशले भाइलाई भेट्दा बोल्न सक्ने अवस्थामा थिएनन्, '११ गते गोली लागेकै दिन काठमाडौँ ल्याउने पहल गरे पनि राति भइसकेकाले हेलिकप्टर आउन नसक्ने भन्ने भयो। मैले भाइलाई भेट्दा त बोल्न सक्ने अवस्थामा थिएन। हामी नपुग्नु पहिले त उसले बोलेको थियो रे', उनी टिलपिल आँसु पार्दै सुनाउँछन्।

दयाराम मानव अधिकार आयोगको जिल्ला प्रतिनिधिका रूपमा अनुगमनका लागि खटिएका थिए जनकपुरमा। मानव अधिकारकर्मी नै मारिएपछि त्योबेला घटनाबारे देश बाहिर पनि चर्चा भएको थियो।

भाइको मृत्युको शोकले उनी त्यसपछि कयौँ महिनासम्म छटपटाए। तर चित्त बुझाउन थाले देशको अवस्था यस्तै छ भनेर। त्यसपछि उनको पत्रकारितामा नयाँ आयाम थपियो, 'मानव अधिकार'। उनैले मानव अधिकार पत्रकार संघ खोले। मानव अधिकारका लागि कयौँ ठाउँमा धर्ना दिए जुलुस निकाले। वकालत गर्दै हिँडे। बहस चलाए। उनले आफूलाई यसपछि मानव अधिकारकर्मीका रूपमा चिनाउन थाले। मानव अधिकारकर्मीका रूपमा थुप्रै काम गरे पनि भाइका हत्यारालाई कारबाही गर्न नसकिएकोमा भने उनी खिन्न छन्।

भाइको किन हत्या गरियो? प्रकाशसँग पनि जवाफ छैन।

'ऊ कुनै युद्धमा पनि गएको थिएन। दोहोरो भीडन्तमा मारिएको पनि होइन। प्रहरीले त्यतिकै गोली चलाएर मेरो भाई मार्‍यो', गुनासो गर्छन् परियार।

घटनास्थलमा रहेका तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मा र तीन प्रहरीलाई कारबाहीका लागि मानव अधिकार आयोगले सिफारिस गरे पनि कारबाही नहुँदा उनी आक्रोशित छन्।

'मानव अधिकार आयोग आफ्नै कर्मचारी मारिँदा पनि न्याय दिन सक्दैन। सरकार जो दोषी हो उसैलाई बढुवा गरेर दण्डहीनता बढाइरहेको छ। कसरी आशा गर्नु न्यायको', उनको गुनासो छ।

उनले भाइका नाममा प्रतिष्ठान खोलेका छन्, 'दयाराम स्मृति प्रतिष्ठान'।

भाइ मारिएको शोकमा उनले पत्रकारितामा मानव अधिकार मात्रै जोडेनन् फराकिलो दायरा राजनीति रोजे। पत्रकारितामा सन्तुष्टि नमिलेर राजनीतिमा भने लागेका हैनन्। भाइको हत्या नभएको भए प्रकाश अहिले पनि पत्रकारितामै रमाइरहेका हुन्थे।

भन्छन्, 'मेरो पनि बदलाकै भाव हो तर त्यो सकारात्मक बदलाको रूपमा मेरो हकमा लागू भयो। मानव अधिकारका लागि पनि राजनीति गर्नुपर्ने देखेँ।'

भाई मारिएको शोकलाई शक्तिमा बदले। अनि प्रकाश राजनीतिमा होमिए। पत्रकारिताको कर्मलाई अल्पविराम लगाए।  

नेपाली कांग्रेसको महासमिति सदस्य भए प्रकाश। शेरबहादुर देउवाको निकट रहेर काम गरे। उनी पूर्णबहादुर खड्काको सम्पर्कमा हुन्थे। पार्टीभित्र रणनीतिकारका रूपमा काम गरे धेरैजसो। कांग्रेसमा दुई वर्ष रहँदा उनले इमानको राजनीति पाएनन्।

'इमानको राजनीतिमा आएको तर इमान-जमान नहुने रहेछ। डन दादागिरी घुसखोरी बढी चल्ने। म त्यसो गर्न नसक्ने। त्यसपछि मैले पार्टी छोडेँ। नेताहरूलाई अब म नयाँ अभियानमा छु मलाई उतै राम्रो हुन्छ भनेँ', उनले सुनाए।

साझा पार्टी स्थापनअघि संयोजक रवीन्द्र मिश्र, ओमप्रकाश अर्याल, सरोज धिताल र सूर्यराज आचार्यलगायत लागिपरेका थिए समृद्धि अभियानमा।

पार्टी स्थापनादेखि नै सक्रिय छन् प्रकाश। आफू इमानको राजनीति गरिरहेको दाबी गर्छन्। अहिले साझाका सचिवालय सदस्य हुन्। स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार बने। हारेकोमा कुनै चिन्ता मानिरहेका छैनन्।

भन्छन्, 'चुनाव हो जे पनि हुनसक्छ भन्ने त थियो तर अहिले नै हामीले जित्छौँ भनेर उम्मेदवारी दिएका थिएनौँ। उम्मेदवारी दिनु नै ठुलो कुरा थियो।'

उनका तीन सूत्र छन् अघि बढ्ने।

टेलिभिजनमा रहँदा 'टी' अर्थात् टिम

पोलिटिक्समा 'पी' अर्थात् पिपुल र,

ह्युमनिटीमा 'एच' अर्थात् ह्युमन जहिले प्राथमिकतामा राखेर काम।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell