
काठमाडौँः राष्ट्रियसभामा रिक्त हुने सदस्य सिफारिस विवादमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बालुवाटारमा बिहान साढे ११ बजे बैठक बोलाइएको छ।
यसअघि सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। तर, सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानपछि विवाद भइरहेको छ।
सचिवालयले गौतमको नाम सिफारिस गरे पनि प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै दोहो¥याउने इच्छा देखाएका छन्। सचिवालय र प्रधानमन्त्रीबीचको विवादका कारण मन्त्रिपरिषद्ले फागुन २१ बाट रिक्त हुने एक सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको छैन।
तर, नेकपा निकट स्रोतका अनुसार प्रधानमन्त्री तथा सचिवालयको निर्णयको विवाद कायम रहँदा तस्रो व्यक्तिलाई मौका दिने तयारी समेत भइरहेको छ। यद्यपि उक्त विकल्पबारे पार्टीमा औपचारिक रुपमा छलफल भएको छैन। सचिवालय बैठकमा उक्त विकल्पबारे पनि छलफल हुने नेकपा स्रोतको भनाई छ।
तर, कतिपयले भने गौतमलाई रिक्त एक सदस्यमा सिफारिस गर्ने र अर्थमन्त्री खतिवडालाई बजेट पेस गर्नेगरी मन्त्रीका रुपमा शपथ गराएर विवाद अन्त्य हुने पनि बताउँदै आएका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पद फागुन २१ गतेबाट रिक्त हुँदैछ। अर्थमन्त्री समेत रहेका खतिवडाको कार्यकाल यही २० गते सकिँदैछ।