PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

यस्तो छ पारस खड्काले चढ्ने एक्सयुभी ३०० कार



ऋषिकेश दाहाल

यस्तो छ पारस खड्काले चढ्ने एक्सयुभी ३०० कार

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अहिले  महिन्द्रा एक्सयूभी ३०० कारमा हुँइकेको देखिन्छन्। गत बुधवार व्यापारिक घराना अग्नि ग्रुपले उनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गर्दै महिन्द्रा एक्सयूभी एसयूभी ३०० कार दिएको थियो।

महिन्द्रा एक्सयूभी ३०० कारको केही साताअघि हामीले टेस्ट ड्राइभ गरेका थियौं। 

++

दरबारमार्गमा नम्बर नभएको एउटा सेतो एक्सयूभी रोकिँदा धेरैको आँखा त्यसैतिर परिरहेको थियो। सैनिक दिवसको तयारीमा गएको प्रवीन नआइसकेकाले केहीबेर रोकियो गाडी। टेस्ट ड्राइभ गर्ने पूर्व तयारी केही समय धकेलिएको थियो। फोटोपत्रकार प्रवीन आउनासाथ दरबारमार्गबाट गाडीले गति लिन थाल्यो। तर, दरवारमार्ग न हो, हल्का ट्राफिक जाम सामान्य। गाडी केही अगाडि लैजानासाथ आवाज आयो - टुँट, टुँट।

'के भयो ?'

'अगाडि नि सेन्सर छ त।'

कारण बुझेपछि एकैछिन अघिको कौतुहलता सकियो। महेन्द्रको सालिक मोड्दै गाडीले महाराजगञ्जतिरको गति लियो। जाममा रोकिँदा गाडीको नेभिगेसन अन गर्दा ड्यास बोर्ड ककपिट झै लागिसकेको थियो। टर्बो इन्जिन भएकाले १ हजार २ सय सीसीको भए पनि गाडीको रफ्तार ह्वात्तै हुने रहेछ। जुन रफ्तारमा गाडीले गति लियो - स्कर्पियोकै गति।

कुन गाडी हो यो ?

कौतुहलता नराखौं। आज हामीसँगको यात्रामा तपाईँ एक्सयुभी ३०० को यात्रामा हुनुहुन्छ। मोडल चाहिँ डब्लु एट। झट्ट साइडबाट हेर्दा यसलाई टिबोली नै ठान्नेहरु पनि हुँदा रहेछन्। तपाईँ पनि नझुक्किनुस् यो महिन्द्राकै हो।

लाजिम्पाट पार गरेर पानी पोखरीको उकालोमा बायाँतिर बाटो गडबड। हुन्निएर गएको गाडीलाई सजिलै ट्रयाकमा ल्याउँदा धेरै हलचल आएन। त्यसमाथि ब्रेक सबै डिस्कमात्र।

'गजब कन्ट्रोल हुने रहेछ त।'

गाडीको रफ्तार र सहजै कन्ट्रोल भएपछि धक फुकाएर तारिफ गर्न किन कञ्जस्याइँ गर्नु ? तर, क्लचबाट खुट्टा बाहिर राखिरहने बानी परेकाले पूरै सहज भइरहेको थिएन। महिन्द्राकै अरु गाडीमा जस्तो बायाँ खुट्टालाई 'रेस्ट' दिने ठाउँ छैन यसमा।

एउटा गाडीमा हात परेको जो कसैका लागि पनि अर्को गाडी सहज हुन्न सुरुमै। त्यसमाथि टेस्ट ड्राइभका लागि मात्र एक दिने 'इन्सोरेन्स' गरेर ल्याएको गाडी - कतै ठोक्कायो भने ? गाडी होइन, चलाउनेमाथि नै शंका हुनसक्थ्यो। त्यसो त अलि बढी नै 'कन्सस' होइन्छ - भीडभाडमा गाडी कुदाउँदा। त्यसमाथि लेनको नियम कसले टेर्ने नेपालमा ?

नेभिगेसनमा डेस्टिनेसन फिट गरियो - बुढानिलकण्ठ। नदेखेको रुट भएर होइन, कसरी देखाउँछ भन्ने जान्नमात्र। यो रुट रोज्नुको कारण थियो - बाँसबारी पार गरेपछि ट्राफिक केही हलुका होला भनेरै हो। भयो पनि त्यस्तै।

बुढानिलकण्ठ जाने बाटो ठाउँ ठाउँमा खाल्डाखुल्डी। हुन त जहिँ तहिँ खाडल हुनु सडकको राष्ट्रिय रोग नै हो यो हाम्रा लागि। तै पनि अन्यत्र भन्दा सहज नै छ यो बाटो। रफ्तारमा जाँदा अगाडि रफ बाटो भेटिनु र त्यतिखेर कन्ट्रोल गर्न सक्नुको मजा बेग्लै। अनि सोधेँ - 'धेरै थचारेको त छैन नि।'

'अलिअलिमात्रै हो हल्लेको।'

पछाडिबाट जवाफ पाएलगत्तै गाडीको रफ्तार बढिहाल्यो। 'पिक अप' ह्वात्तै लिने भएकाले ओभरटेक गर्दा सहज महसुस भइसकेको छ, बुढानिलकण्ठसम्म पुग्दा। अब भने हामी बुढानिलकण्ठ स्कुललाई दायाँ पारेर शिवपुरीतिर लाग्दैछौं। यो बाटोको मजा भनेको उकालो र त्यही उकालोमा आउने टर्निङहरु नै हो। टेस्ट ड्राइभमा हिँडेकाले यस्तो बाटोलाई मज्जाको भनेका हौं है, खासमा जोखिमपूर्ण बाटो हो यो। त्यसैले उकालोमा टर्न लिँदा गाडीको पर्फमेन्स कस्तो होला भन्ने थियो। सहजै टर्न लिन सकियो र उकालो पार पनि भयो।

 

नेपाली सेनाको चेक पोइन्ट पुगेपछि गाडी रोकियो। त्यहाँ पुगेपछि आफ्नै ड्राइभ रिभ्यू गर्न मन लाग्यो। गियर चेन्जदेखि स्पिड कन्ट्रोल कस्तो रह्यो त ? सबैमा ग्रिन सिग्नल देखायो। वाह ! गजब ड्राइभ भएछ त ! यसमा रहेको ड्राइभिङ रिभ्यूले आफ्नो गाडी चलाउने शैलीलाई रिभ्यू गर्ने रहेछ। इन्जिनलाई दवाव पार्नेगरी गाडी कुदाइरहेको छ या छैन, स्पिड अनुरुप गियर चेन्ज भइरहेको छ छैन, सबै रिभ्यूमा हेर्न सकिने।

माथि पुगिसकेपछि प्रवीनलाई गाडी मोडमा कसरी कुद्यो भिडियो सुट गर्न मन लागेछ। उसले आदेश दियो- पूरै तल गएर आउनुस् त।

आदेश पालन त हुनै पर्‍यो। फेरि फेदीसम्मै पुगेर गाडीलाई पुन: पहिलेकै बाटोबाट उकालोतिर लगियो। यतिखेर सडकको 'भूगोल' याद भइसकेकाले पहिलेभन्दा बढी रफ्तार लिएँ। तीन नम्बर गियरमै गाडी त सजिलै माथितिर गयो। साँघुरो ठाउँमा पुग्दा अरु कुनै गाडी वा मानिस नआएकाले है यस्तो भएको। नत्र रोकिन पनि पर्थ्यो, सायद।

जे होस् टेस्ट ड्राइभ रमाइलो रह्यो।

साँच्ची यो एक्सयूभीमा त 'सन रुफ' पनि छ। ठमेलबाट लैनचौरतिर जाँदा जाम भएकाले त्यतिखेर सन रुप टेस्ट गरेको हो, तर धुलो उडेकाले बन्द गरिहालियो। यहाँ चाहिँ खोल्दा निर्धक्क किनकि धुलोबाट हामी टाढै थियौं। माथि रुख अनि नीलो आकाश। प्रवीनले सन् रुफबाट टाउको बाहिर निकाल्दै सुनायो - 'फिल्ममा भए हिरोइनले गीत गाउँदाको सिन लिन मिल्ने रहेछ।'

'किलेस' भएकाले गाडी खोल्न र स्टार्ट गर्न साचो चाहिने कुरै रहेन। त्यसमाथि अगाडि र पछाडि दुवैतिर सेन्सर भएकाले जोखिम घटाउने नै भयो। राति गाडी चलाउँदा पछाडिबाट आउने लाइटले सताउँछ सबैलाई। यसमा रेयर भ्यू मिररमा एउटा अप्सन रहेछ - त्यसरी आउने लाइटलाई रोक्ने। राति ड्राइभ नगरेकाले यो चाहिँ अनुभव गर्न भ्याइएन। मौका मिल्दा पक्कै अब त्यसकै टेस्ट गर्नुपर्ला।

पिच बाटोमा त सजिलै गयो, ठाडो र रफ बाटोमा टेस्ट गरौं न त अब। नेपालको एउटा विशेषता भनेको 'रोड' परिभाषाभित्र नपर्ने रोडहरु यहाँ जति पनि पाइन्छ। नेपाल रोड स्ट्यान्डर्ड २०७० का अनुसार हिमाली सडक १४ देखि ३१ डिग्री सम्मको हुने गर्छ।

यहाँ पनि एउटा प्लटिङतिर उक्लिने ढलाने बाटो भेटियो ठाडो। हिमाली बाटो त होइन तर यो ३५ डिग्रीभन्दा बढी नै छ। कुन चाहिँ जग्गाको कारोबारीले रचेको सडक हो, किन मिलाउथ्यो - स्लोप। उसलाई जग्गा बिके पुगिहाल्यो।

यस्ता बाटो हाम्रा लागि सामान्य बनिसकेका छन्, यिनमा उस्तो थ्रिल फिल गर्नुपर्ने अवस्था नै रहन्न नेपालीका लागि। किनकि यस्तो सडक हाम्रो बाध्यता भइसके। त्यसैले हामी त्यही उकालोतिर हुँइकियौं। यतिञ्जेल हात बसिसकेकाले हुनुपर्छ, थोरै पनि असहज अनुभूति भएन। त्यसैगरी ओरालोमा आउँदा पनि गियरकै भरमा नियन्त्रण लिन कुनै कठिनाइ परेन। कच्ची बाटोमा पनि ड्राइभ स्मुथ नै रह्यो।

महिन्द्राले ठीक एक वर्ष भयो यो गाडी बजारमा उतारेको। भारतीय कम्पनीको गाडी भए पनि यो दुरुस्तै लाग्छ कोरियाली कम्पनी स्याङयोङको टिभोली। नहोस् पनि किन ? टिभोली र यसको प्लेटफर्म एउटै रहेछ। टिभोलीलाई भारतीय सडक अनुकूल बनाउँदै यो गाडीको यस्तो रूप तयार भएको रहेछ।

'अगाडि त स्मुथ भइरहेको छ। पछाडि चाहिँ कस्तो छ है, घुँडा त ठोकिएको छैन ?'

ड्राइभिङ सिटमा चढेसँगै सबैभन्दा पहिले सिट पूरै पछाडिसम्म फैलाउने बानी नै परेको छ। सानो ह्याचब्याक चलाउँदा पछाडि बस्नेको घुँडा सधैं ठोकिन भएकाले यहाँ सोध्नु आवश्यक थियो।

'छैन छैन। आराम छ।'

पछाडि बसेका साथीहरुको जवाफ मिल्यो। अगाडि र पछाडि बस्न उत्तिकै कम्फोर्ट छ। त्यसैले अन्य एक्सयूभीको तुलनामा यसको बुट स्पेस चाहिँ केही कम रहेछ। २ सय ५७ लिटर बुट स्पेस छ यसमा। अगाडि र पछाडि बस्नेलाई आराम मिल्छ भने बुट स्पेस कम हुनुलाई त्यति ठूलो विषय मान्न पर्दैन किन भने यसमा पनि धेरै लगेज अटाउन सकिन्छ। त्यसो त एक्सयुभी ५०० को भाइ हो, यो गाडी। धेरै लोड र बुट स्पेस चाहिनेका लागि महिन्द्राको एक्सयुभी ५०० छँदैछ।

मुल सडकमा एकै पटकमा गाडीलाई घुमाउन सकिँदा एक किसिमको कम्प्याक्ट गाडीको महसुस हुने रहेछ। टर्निङका लागि ५.३ मिटर फराकिलो सडक भएदेखि हामीले रिभर्स गियर चलाउनै पर्दैन यो गाडीमा। ६ फ्रन्ट र एक रिभर्स गियर छ यसमा। रिभर्स गियरसँग अन हुने ब्याक क्यामरा र सेन्सरले ड्राइभलाई सहज बनाइहाल्ने भएकाले झन्झट कम। त्यसो त गाडीभित्र ग्याजेट्स भित्र्याउने पछिल्लो समयको होडबाजी नै हो। यसमा चुकेको छैन, महिन्द्रा।

यसको इन्टेरियरमा मेहनत परेको देखिन्छ। बाहिरी स्वरुप नि ?

भित्र जति कम्फर्ट अनुभूति भयो बाहिर उत्तिकै राम्रो लुक्स। त्यसको छनक त हामीले टेस्ट ड्राइभ गर्नुअघि नै दरबारमार्गमा पार्क गरेर राख्दा बाटोमा हिँड्नेले लगाएको नजरले दिइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell