PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भैरहवाले भित्र्यायो थप तीन विदेशी खेलाडी, प्रशिक्षक दासानायके भन्छन्, ‘नेपाल आउँदा खुशी छु’



मुकुन्द घिमिरे

भैरहवाले भित्र्यायो थप तीन विदेशी खेलाडी, प्रशिक्षक दासानायके भन्छन्, ‘नेपाल आउँदा खुशी छु’

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि भैरहवा ग्लाडिएटरले थप ३ जना विदेशी खेलाडी भित्र्याएको छ। केही समयअघि ड्वेन स्मिथलाई टिममा सहभागी गराइसकेको भैरहवाले आज थप तीन खेलाडी भित्र्याएको हो।

भैरहवामा श्रीलंकाबाट मिलिन्डा सिरिवन्दन र जीवन मेन्डिस तथा ओमनबाट बिलाल खान भित्रिएका छन्।

नेपाली राष्ट्रिय टिमका समेत प्रशिक्षक रहिसकेका पुबुदु दासानायके भैरहवाको प्रशिक्षक रहेका छन्। उनले नेपालमा फेरि आउन पाउँदा खुशी लागेको बताएका छन्।

‘फेरि पनि नेपालमा आउन पाउँदा खुशी लागेको छ। यसपटक इपिएलमा ठूला विदेशी खेलाडीका नामहरु आइरहेका छन्। हामीले पनि सन्तुलित टिम बनाएका छौं’, उनले भने, ‘म नेपाली क्रिकेटलाई नजिकबाट हेरेको छु। राम्रा विदेशी खेलाडीहरुसँग खेल्दा हाम्रा युवा खेलाडीहरुले पनि राम्रो अनुभव बटुल्ने छन्।’

विदेशी खेलाडीहरुमध्ये ओमनका बिलाल खान नेपाली क्रिकेटसँग जानकार रहेको र श्रीलंकन खेलाडीहरुलाई यहाँको अवस्थाबारे ब्रिफ गरिसकेको दासानायकेले बताए। त्यस्तै ड्वेन स्मिथ पनि चाँडै यहाँको अवस्थासँग फिट हुने उनले बताए।

इपिएलका लागि खेलाडीहरु मार्च १२/१३ सम्ममा नेपाल आइपुग्ने उनले जानकारी दिए।

यी हुन् भैरहवा ग्लाडिएटर्सका ४ विदेशी खेलाडी :

मिलिन्डा सिरिवर्धना :

बायाँ हाते ब्याट्सम्यान र स्पिनर सिरिवर्धना २०१५ मा पाकिस्तानविरुद्द ओडिआई र टि-२० डेब्यू गरेका थिए। त्यही वर्ष उनले वेस्टइन्डिजसँगको खेलमा टेस्ट डेब्यु गरेका थिए।

पाँच वटा टेस्ट खेलेका उनले ३३ दशमलव ११ को औषतमा २९८ रन बनाएका छन्। त्यस्तै एकदिवसीयमा २७ खेल खेलेर ५ सय १६ रन बनाएका छन्।

बिलाल खान :

बिलाल खान ओमनी टिमका बायाँ हाते फास्ट मिडियम स्विङ बलर हुन्। केही हप्ताअघि काठमाडौंमा सम्पन्न अमेरिका, नेपाल र ओमनसम्मिलित लिग २ अन्तर्गतको सिरिजमा १८ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

पाकिस्तानमा जन्मिएका उनले ओमनबाट टी २० मा डेब्यू सन् २०१५ मा हङकङसँगको खेलमा गरेका थिए। उक्त सिरिजमै ७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। सन् २०१८ यता उनले लगातार ओमनी टिमबाट खेल्दै आएका छन्।

जीवन मेन्डिस :

श्रीलंकन अलराउन्डर जीवन मेन्डिस भैरहवाले भित्र्याएको अर्को ठूलो नाम हो। सन् २०१० मा जिम्वावेसँगको खेलमा ओडिआइ डेब्यू गरेका मेन्डिसले श्रीलंकाबाट टि-२० विश्वकप २०१२  र २०१५ मा विश्वकपमा समेत प्रतिनिधित्व गरिसकेका छन्। 

त्यस्तै फ्रेन्चाइज लिगहरुमा तमिल युनियन, सिड्नी सिक्सर्स,  देल्ली डेयरडेबिल्स, बार्बाडोस ट्रिडेन्ट लगायतका टिमहरुबाट खेलिसकेका छन्।

ड्वाने स्मिथ :

३६ वर्षीय स्मिथ यसपटक इपिएलमा भैरहवा ग्लाडियटर्सबाट खेल्दैछन्। वेस्टइन्डिजका अलराउन्डर उनी दायाँ हाते ब्याट्सम्यान र बलिङमा राइट आर्म मिडियम बलर हुन्। सन् २००२ मा वेस्टइन्डिजको साउथ अफ्रिका भ्रमणका क्रममा डेब्यू खेलमै शतक बनाएर उनले चर्चा बटुलेका थिए। छोटो फर्म्याटको खेलमा पनि उनले राम्रो प्रदर्शन रहँदै आएको छ।

आइपिएलमा पनि उनले चेन्नाइ सुपर किंग्स, गुजरात लायन्स र मुम्बई इन्डियन्सबाट खेलिसकेका छन्।

यही चैत १ गतेबाट शुरु हुने इपिएलका लागि एकपछि अर्को टिमले चर्चित विदेशी खेलाडीहरु भित्र्याइहेका छन्। यसअघि इपिएलमा क्रिस गेल, मोहम्मद सहजाद, उपुल थरंगालगायतका खेलाडीहरुले इपिएल खेल्ने निश्चित भइसकेको छ।

६ टिम सहभागी हुने इपिएलमा पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell