
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको बताएका छन्।
रिपोर्टर्स क्लबमा भएको साक्षत्कारमा पन्तले सरकार र पार्टीबाट समृद्धि र सुशासनको अपेक्षा गरिरहेका मतदाताहरु दुःखी भएको बताएका हुन्।
उनले भने, ‘अहिले नेकपाभित्र जे-जस्तो कुरा देखा पर्यो, त्यो दुःखद हो। त्यसले नेकपालाई भोट हाल्ने मतदाता र अहिलेको सरकार र नेकपाबाट परिवर्तन, समृद्धि र सुशासनको अपेक्षा गरिरहेका नेपाली जनता, पार्टी कार्यकर्तालाई दुःखी बनाएको छ।’
उनले प्रधानमन्त्री स्वास्थ्यलाभ गरेर फर्किपछि सबै समस्याहरुको समाधान हुने विश्वास पनि व्यक्त गरे। शीर्ष नेतृत्वले आत्मचिन्तन गरेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए।
पन्तले बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय लोकतान्त्रिक नभएको बताएका छन्। निर्वाचनमा पराजित भएको २ वर्ष नपुग्दै राष्ट्रिय सभामा लैजाने कुरा लोकतान्त्रिक दृष्टिकोणले उपयुक्त नभएको उनले बताए।
‘राष्ट्रिय सभा भनेको राष्ट्रका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका, विश्लेषकहरु, पार्टीभन्दा बाहिर रहेका वा भित्रका विचारकहरुलाई पठाउने कुरा हो। प्रतिनिधि सभामा गल्ति भएका विधेयकहरु राष्ट्रिय सभामा सच्याउन सकियोस भन्ने आशय हो। त्यसैले निर्वाचन हारेकालाई राष्ट्रिय सभामा पठाउने कुरा लोकतान्त्रिक ढंगले ठिक थिएन,’ उनले भने।
उनले संविधान संशोधनको कुरा गलत समयमा गलत एजेण्डाका लागि पार्टीले बहसमा ल्याएको बताए। संविधान संशोधनको बहस र विवाद बाहिर आएपनि अहिले पार्टीको एजेण्डाबाट हटिसकेको उनले बताए।
‘कुनैपनि राजनीतिक दलले ठिक एजेण्डा, ठिक समयमा, ठिक ढंगले अगाडी सार्नुपर्थ्यो’, उनले भने, ‘त्यो संविधान संशोधनको एजेडा बेठीक समयमा, बेठीक ढंगले बेठीक कुरालाई लिएर सारिएको थियो। त्यसैले यो अहिले जनता र पार्टीको आवश्यकता थिएन।’
संविधान कार्यान्वयनको चरणमा रहेकाले अझै ८/१० वर्षसम्म संशोधनको एजेण्डा नेकपाले संसदमा लान नहुने उनको धारणा थियो।