PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एघार देशको लोक नृत्यमा यसरी झुम्यो वसन्तुपर

एघार देशको लोक नृत्यमा यसरी झुम्यो वसन्तुपर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : १० औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाल सहित ११ राष्ट्रले लोक नृत्य प्रस्तुत गरेका छन्। वज्रकला कुञ्जको आयोजनमा वसन्तपुरमा भएको कार्यक्रममा करिव दुई सय कलाकारहरुले आआफ्नो राष्ट्रको लोक नृत्य प्रस्तुत गरेका थिए।

विभिन्न देशबाट आएका कलाकारहरुलाई जमलमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वागत गरेकी थिइन्।त्यहाँबाट र्‍याली सहित असन, जनबहा:,इन्द्रचोक, हनुमानढोका हुँदै कलाकारहरु नाच्दैगाउँदै वसन्तपुर डबली पुगेका थिए।

मेलामा बंगलादेश,बुलगेरिया,डेनमार्क,इजिप्ट,इस्टोनिया,श्रीलंका,भारत,इजरायल,मलेसिया र मेक्सिकोका कलाकारहरु नेपाल आएका छन्।

कार्यक्रममा व्रजकला कुञ्जको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै धिमे नृत्य प्रस्तुत गरिएको थियो। धिमेको धुनमा १०० जना कलाकारले पहिलोपटक वसन्तपुरमा नृत्य प्रस्तुत गरेका थिए।

मेक्सिकोका कलाकारहरुले 'फ्लोकलोरिको' नाच प्रस्तुत गरे भने भारतको पंजाबबाट आएकाहरुले भांगडा प्रस्तुत गरेका थिए। डेनमार्कबाट आएका कलाकारहरुले १७ औं शताब्दीको लोक नृत्य प्रस्तुत गरेका थिए। ६० वर्षभन्दा माथिका कलाकारहरुले लोप हुन लागेको आफ्नो लोक नृत्य बचाउन लागिपरेको बताए।

श्रीलंकाले आफ्नो राष्ट्रको इतिहास झल्कने नृत्य प्रस्तुत गर्दा बुलगेरियाका कलाकारहरुले आफ्नो देश र ग्रीष्म ऋतुको स्वागतमा नृत्यु प्रस्तुत गरे। यस्तै, इजरायली कलाकारहरुले आफूहरुको खुसी नृत्य मार्फत प्रस्तुत गर्दा मलेसियाका कलाकारहरुले नृत्यबाट आफ्नो देशको बाहुल्यता प्रस्तुत गरेका थिए।

बंगलादेशबाट आएका कलारहरुले आफ्नो इतिहाससँगै विभिन्न परम्पराहरु प्रस्तुत गरे।

लोक सांस्कृतिक मेला पोखरा, पाटन र काठमाडौंको मनमैजुमा समेत संचालन गर्ने तयारी आयोजकले गरेको छ।   



ट्रेन्डिङ पोस्ट

Ncell