PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

एसपी पन्तसँग सेटिङ गर्न पुगे महिला पोके तस्कर, भने : यो हाम्रो रोजीरोटी हो



राधेश्याम पटेल

एसपी पन्तसँग सेटिङ गर्न पुगे महिला पोके तस्कर, भने : यो हाम्रो रोजीरोटी हो

वीरगंज : आइतवार बिहान ११ बजे करिब ४० जना महिलाहरुको टोली जिल्ला प्रहरी कार्यालय पुग्दा गेटमा खटिनेदेखि विभिन्न फाँटमा ड्युटी रहेका प्रहरीहरु अलमलमा परे। शहर वा ग्रामिण भेगमा कुनै ठूलो घटनाको सम्बन्धमा डेलिगेसन आएको होला भनी सबैले सोचेका थिए।

तर, सबै जना केही बेरमा गलत साबित भए। उनीहरु तस्करी गर्न पाउँ भनेर महिला एसपीको रुपमा पहिलो पटक पर्सा आएकी गंगा पन्तलाई भेट्न आएका थिए।

नरम स्वभावकी महिला प्रहरी प्रमुख भन्ठानेर उनीहरु कार्यालयमा प्रवेश गरेका थिए। यस्तोमा महिला पोके तस्करहरु उनी समक्ष पोके तस्करीको लागि हारगुहार गर्न थाले।

‘मेडम जी, यो हाम्रो रोजीरोटी हो, गर्न पाउँ, दैनिक गुजारा गर्न हामीले यस्तो भरियाको काम गर्छौ’, पोके तस्कर मध्येकी एक अगुवा महिलाले एसपी पन्तसँग अनुरोध गर्दै भनिन्, ‘प्रहरीले गरेको कडाइका कारण हामी जस्तो दीन दुःखीको उठिबास लागिरहेको छ।’

एसपी पन्तले महिला पोके तस्करहरुलाई सम्झाउँदै भनिन्, ‘तपाईंहरु भरियाका पात्र मात्र हो, माल कमाउने र मोटाउने व्यवसायी अरु नै हुन्। तस्करी गैरकानुनी काम भएकोले यसको विकल्पको खोजी गर्नु।’

उनले पर्सा प्रहरीले दुई सातादेखि सीमा नाकामा कडाइ गरेको भन्दै धेरै जसो रक्सौलबाट पोको बाँधेर ल्याइने लत्ता कापडा बरामद हुन थालेपछि पर्साका पोके तस्करमा त्रास फैलेको र सेटिङ गर्नको लागि मुख्य तस्करहरु महिला पोके तस्करहरुलाई आफू कहाँ पठाएको बताइन्। उनले कानुन विपरित काम गर्ने महिला वा जोकसैलाई पनि नछोड्ने चेतावनी दिएन्।

अबदेखि उनीहरु आए भने नियन्त्रणमा लिने चेतावनी समेत दिएको एसपी पन्तले बताइन्। प्रहरी स्रोतका अनुसार दैनिक बिहान, बेलुका र राति गरी करिब २ सय महिला पोके तस्करहरु भरियाको रुपमा वीरगंजका टेड्रिङ व्यवसाय गर्ने एक दर्जन व्यवसायीहरुका लागि काम गर्ने गरेका छन्। एक जना महिलाले दैनिक २ देखि ३ हजारमा तीन पटक सम्म टाउकोमा लत्ताकपडा, खाद्यान्न तथा श्रृंगारको समान रक्सौलबाट ल्याएर वीरगंजको गोदाममा पुर्‍याउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell