
काठमाडौं : सरकारले नेपाल भ्रमण २०२० स्थगित गर्ने निर्णय गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले विश्वभर कोरोना भाइरसको संक्रमण देखिएकाले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री एवं मन्त्रिपरिषदका अध्यक्ष केपी शर्मा ओलीले अहिले स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने प्रस्ताव गरेका थिए।
यसअघि पर्यटन मन्त्रालयले पनि कोरोना संक्रमणकै कारण विदेशमा भ्रमण वर्षको प्रचार स्थगित गर्ने निर्णय गरेको थियो।
आइतबारको बैठकले कोरोना प्रकोप देखाउँदै बहुप्रतिक्षित अन्तर्राष्ट्रिय कार्यक्रम सगरमाथा संवाद तत्काललाई स्थगित गरेर सार्ने निर्णय गरेको छ। चैतमा हुने भनिएको सगरमाथा संवादमा विश्वका नेता सहभागी गराउने नेपालको तयारी थियो।
त्यसैगरी बैठकले उत्तरी छिमेकी चीनमा रहेका नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको छ। पौड्याललाई १५ दिनभित्र फिर्ता हुन समय दिइएको छ। बैठकले केही सचिवहरुको जिम्मेवारी हेरफेरसमेत गरेको छ।