
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुँदैछन्। दोस्रो पटक ओलीले मिर्गौला प्रत्यारोपणको तयारी गरेका हुन्। यसअघि १३ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको थियो। यो पटक भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नै ओलीको मिर्गौला प्रत्यारोपणको तयारी भएको हो।
ओलीलाई भाञ्जी पर्ने झापाकै एक महिलाले मिर्गौला दिन लागेको निकट स्रोतहरुको दाबी छ। तर, परिचय गोप्य राखिएको छ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि बुधबार मिर्गौला प्रत्यारोपणको तयारी छ।
अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आजै योजना आयोगको पूर्ण बैठक बोलाएका छन्। ओलीको अध्यक्षतामा बालुवाटारमै आयोगको पूर्ण बैठक बस्नेछ।
बिहान ९ बजे बैठक बोलाइएको छ।
आयोगको बैठक सकिएपछि दिउँसो मन्त्रिपरिषद बैठक बस्नेछ। सोमबार नियमित रुपमा बस्दै आएको बैठक सकेरमात्र ओली अस्पताल भर्ना हुनेछन्।
यसअघि आइतबार साँझ पनि मन्त्रिपरिषद बैठक बसेको थियो। मन्त्रिपरिषदले नेपाल भ्रमण वर्षको प्रचार कार्यक्रम स्थगित गरेको थियो। कोरोना भाइरसको जोखिमका कारण भ्रमण वर्ष स्थगित गरेको थियो।
यस्तै, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उनको स्थानमा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको थियो।
प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि नै अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः मन्त्रीका लागि सिफारिस गर्ने प्रधानमन्त्री निकट स्रोतहरुको दाबी छ। राष्ट्रियसभा सदस्य सिफारिसमा विवाद भइरहेको बेला संवैधानिक प्रावधान अनुसार संघीय संसद्को सदस्यता नभएको व्यक्ति समेत ६ महिना मन्त्री हुन पाउने व्यवस्था अनुसार खतिवडालाई पुनः शपथका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न लागिएको हो।