
काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया धरापमा परेपछि परराष्ट्र मन्त्रालयले ई-पासपोर्ट छपाइको पुनः टेण्डर गरेको छ। आफ्नै प्रेस स्थापनाको प्रक्रिया अघि बढाइएको भन्दै गत कात्तिकमा बोलपत्र खोल्नुभन्दा एक दिनअघि परराष्ट्रले टेण्डर रद्द गरेको थियो। प्रधानमन्त्रीको निर्देशनमा उक्त प्रक्रिया रद्द गरिएको भन्दै आलोचना समेत भएको थियो।
टेण्डर रद्द भएको चार महिनापछि परराष्ट्रले पुनः टेण्डर आह्वान गरेको हो। मार्च २ (फागुन १९) गतेदेखि ४५ दिनको समयसीमाभित्र इच्छुक कम्पनी टेण्डर प्रक्रियामा सहभागी हुन सक्नेछन्।
टेण्डर प्रक्रिया रद्दपछि मौज्जात राहदानी कम रहेको भन्दै परराष्ट्रमाथि दबाब परिरहेको थियो।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा संलग्न विभागीय मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वीस कम्पनीको एक एजेण्ड बताउने विजयप्रकाश मिश्रबीच लेनदेनको अडियो सार्वजनिक भएपछि प्रेस खरिद प्रक्रिया रोकिएको छ। खरिद प्रक्रिया रोकिएपछि परराष्ट्रले बाहिरबाटै राहदानी छाप्नेगरी नयाँ टेण्डर आह्वान गरेको हो।
एमआरपीबाट ई–पासपोर्टमा जाने भन्दै ५० लाख राहदानी छपाइका लागि परराष्ट्रले गत भदौमा बोलपत्र आह्वान गरेको थियो। तर, जिटुजी प्रक्रियाबाटै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न लागेको फ्रान्सेली कम्पनीबाटै राहदानी खरिद गर्ने तयारी रहेको भन्दै टेण्डर रद्द भएको थियो।