PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

एक हप्ता पछि सर्‍यो फिल्म ‘नीरफूल’को प्रदर्शन मिति



पहिलोपोस्ट

एक हप्ता पछि सर्‍यो फिल्म ‘नीरफूल’को प्रदर्शन मिति

काठमाडौं : सञ्चारकर्मी फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’को प्रदर्शन मिति एक हप्ता पछि सरेको छ। फागुन ३० मा रिलिज हुने तय भएको फिल्म चैत ७ मा सारिएको हो।

यसअघि फागुन २३ मा रिलिज डेट तोकिएको ‘म यस्तो गीत गाउँछु-२’, हिन्दी फिल्म ‘बाघी-३’ आउने भएपछि फागुन ३० मा सारिएको थियो। त्यतिबेलै धेरैले ‘नीरफूल’ एक साता सर्ने अनुमान गरेका थिए।

‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो’, निर्देशक वलले भने, ‘हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ।’

फिल्म ‘नीरफूल’को ट्रेलर मंगलवार सार्वजनिक हुँदैछ। भुकम्पमा परि बिछोडिएको परिवारले पुनर्मिलनको लागि गर्ने संघर्षमा आधारित रहेको छ। फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रुपमा पनि छन्। फ्रेण्ड्स अफ नेपाल-म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए। निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन्। राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell