.png)
काठमाडौं : सेयर बजार करिब १०० अंक घटेर १५९५ अंकमा झरेको छ। गत साता २०० अंकले बढेको बजार सोमबार एकैदिन ९६ अंकले झरेको हो।
डा. युवराज खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने समाचार सार्वजनिक भएपछि सोमबार बजारमा पहिरो गएको हो। सबै उपसूचकहरु रातो भएका छन्।
बजार ६ प्रतिशतले झरेपछि कारोबार अवधि सकिनुअघि नै बन्द गरिएको हो। जीवन बीमा ६९०, निर्जीबन बीमा ५२४ र बैंकिङ ९५ अंकले झरेको छ। अन्य सूचक ३० अंकले ओरालो लागेको छ। बजार घटेको र समयअघि नै कारोबार बन्द भएकाले किनबेच रकम पनि घटेको छ।
दिनभरीमा १७३ कम्पनीका २ अर्ब १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल लाइफको १५ करोड ६८ लाखको कारोबार भएको छ भने एनआइसी एसियाको १४ करोड ६१ लाखको किनबेच भएको छ। बाँकी कम्पनीको १० करोडभन्दा कमको कारोबार भएको छ।
जम्मा तीन वटा कम्पनीको सेयर मूल्य बढेको छ। एनआइसी एसिया ब्यालेन्स फण्ड, खानीखोला हाइड्रो र श्रीइन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य बढेको छ।
प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडीसी लघुवित्त, गरिमा विकास लघुवित्त, शिखर इन्स्योरेन्स, सूर्या लाइफ, स्ट्यान्डर्ड चार्टर्ड, नेशनल माइक्रोफाइनान्स र नबिल बैंकको सर्वाधिक सेयर मूल्य घटेको छ। यसैगरी एभरेष्ट बेंक, माछापुच्छ्रे बैंकलगायतको सेयर पनि सर्वाधिक घटेको छ।
बजार ५ प्रतिशतले घटेपछि केही बेर कारोबार बन्द भएको छ। खुलेको केही मिनेटमै ६ प्रतिशतले घटेपछि सोमबारका लागि कारोबार बन्द गरिएको हो।