PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

संविधान संशोधन गरेर संसद नियन्त्रित राजसंस्था राख्न लिङ्देनको प्रस्ताव



पहिलोपोस्ट

संविधान संशोधन गरेर संसद नियन्त्रित राजसंस्था राख्न लिङ्देनको प्रस्ताव

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले राष्ट्र पहिचानका रूपमा संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न प्रस्ताव गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका सदस्यले पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न संविधान संशोधनको तयारी गरेकै समयमा उनले राष्ट्र पहिचानका रूपमा संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न प्रस्ताव गरेका हुन्।

सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले भने, 'निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गरौं। संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं।'

प्रतिनिधसभाको सोमवारको बैठकमा राप्रपा सांसद लिङ्देनले संविधान गीता, कुरान, बाइबल जस्तो असंशोधनीय किताब होइन भन्दै संशोधन व्यक्तिका लागि, परिवारका लागि, स्वार्थ समूहका लागि नभएको बताए।

'झण्डै ४० हजार जनप्रतिनिधि र तीन तहको सरकार देशलाई बोझ र अव्यावहारिक भयो। तपाईंहरुलाई संघीयता शब्द प्यारो छ भने हामीलाई आपत्ति छैन,' उनले भने, 'तर, यो तीन तहको संरचना खारेज गरेर बलियो, अधिकार सम्पन्न र व्यवस्थित स्थानीय तह भएको दुई तहको संरचना निर्माण गरौं। जनप्रतिनिधिको संख्या घटाऔं। संवैधानिक अंगहरूमा हुने नियुक्ति स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔं।'

उनले संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीति भन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell