काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका छन्। लामो समयदेखि किड्नीको डयलासिस गर्दै आएका प्रधानमन्त्रीको शल्यक्रिया हुने भएकाले उनी अस्पताल भर्ना हुन पुगेका हुन्।
आज भिडियो संदेश जारी गरेका ओलीले उपचार पूरा गरेर पुन: काममा फर्कने बताएका छन्। आज साँझ उनी अस्पताल पुगेका हुन् भने उनलाई किड्नी दान गर्न लागेकी समीक्षा संग्रौला दिउँसो नै अस्पताल भर्ना भइसकेकी छिन्।
प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न अस्पताल जानुअघि भिडियो सन्देशसमेत जारी गरेका छन्। युट्युबमा सार्वजनिक भिडियोमा उनले आफ्नो स्वास्थ्यप्रति ढुक्क रहन आग्रह गरेका छन्।
उनले शीघ्र स्वास्थ्य लाभको कामना गर्नेहरुमा धन्यवादसमेत भनेका छन्।
भिडियोको सुरुवातमा ओलीले भनेका छन्,' मेरो जीवन संघर्षमा बित्दै आएको छ। मुलुकमा सिर्जित संघर्षहरुमा जुध्ने क्रममा म रोगसँग लड्न बाध्य हुन पुगेँ।'
उनले १२ वर्ष अघि प्रत्यारोपण गरेको र बुधवार मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएका छन्। उनले आफ्नै देशका अनुभवी चिकित्सकद्वारा मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्।
त्यसैगरी ओलीले आफू जागृत सपना अलपत्र पारेर अलप नहुने बताए। भने, 'जसरी राम्रो खेलाडीले खेलकैबीच मैदान छाड्दैन,त्यसैगरी भर्खर जागृत सपना अलपत्र पारेर म अलप हुन्नँ।' उनले उपचारपछि आफू केही दिनमा फर्कने बताए।