PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजका लगानीकर्ता शेयर कारोबारमा आकर्षित, दैनिक ६ करोडको खरिदबिक्री



राधेश्याम पटेल

वीरगंजका लगानीकर्ता शेयर कारोबारमा आकर्षित, दैनिक ६ करोडको खरिदबिक्री

वीरगंज : अर्थमन्त्री डा युवराज खतिवडा बाहिरिने हल्ला चलेसँगै दुई सातादेखि नेपाली शेयर बजारको कारोबार विगत १८ महिनाकै उच्च विन्दुमा पुगिरहेको बेला वीरगंजका शेयर खेलाडीहरु पनि उत्साहित भए। देशभरमा दैनिक ३ देखि पौन ५ अर्बसम्मको शेयरको खरिद–बिक्री भइरहेको बेला वीरगंजका व्यवसायीहरुले दैनिक ६ करोडको शेयर खरिदबिक्री गरिरहेका छन्।

वीरगंजस्थित शेयर ब्रोकर नम्बर ५८ नासा सेक्युरिटी प्रालिले दैनिक ४ करोड र ब्रोकर प्राइमो सेक्युरिटी प्रालिले २ करोड गरी कुल ६ करोडको शेयर कारोबार गरेका छन्। नासाका प्रबन्धक जित दाहालका अनुसार दुई साता लागातार दैनिक ४ करोड सम्मको विभिन्न कम्पनीका शेयर खरिदबिक्री भइरहेको बताए। उनले हिजोदेखि शेयर बजारमा केही अंकले गिरावट आए तापनि केही सातादेखि वीरगंजको शेयर लगानीकर्तामा उत्साह छाएको देखिएको बताए।

अर्थमन्त्री डा खतिवडा बाहिरिएपछि आर्थिक गतिविधि बढ्ने र शेयर बजारमा उछाल आउने अर्थविद्को विश्लेषण अनुसार लगानीकर्ता शेयर बजारमा लगानी गर्न हौसिएका हुन्। तर, प्राइमो सेक्युरिटीजका प्रबन्धक जयप्रकाश साहका अनुसार अर्थमन्त्री खतिवडा र धितोबोर्डका भिष्मराज ढकालको शेयर बजारमा ल्याएका सुधारोन्मुख योजना तथा कामले शेयर बजार उच्च विन्दुमा पुगिरहेको र लगानीकर्तालाई तानिरहेको बताएका छन्।

नेप्से ११ सय अंकबाट केही सातामै १५ सय १० मा पुग्दा शेयर विश्लेषकहरु चकित बनेका छन् भने कतिपयले नयाँ लगानीकर्तालाई पर्ख र हेर भनेर संचेत गराइरहेका छन्। तर, अहिलेको अवस्था हेर्ने हो भने बजार राम्रो रहेको र लगानी गर्न सकिने प्रबन्धक जयप्रकाश बताउँछन्। नासाका प्रबन्धक जित दाहालले हिजोदेखि लगातार घटिरहेको बजारले भोलिको अवस्था कस्तो होला भन्ने चिता उब्जाएको बताए। आइतवार ४६ अंकले बजार घटेको थियो भने सोमवार ९६ अंकले शेयर बजारमा गिरावट आएको छ।

बैकिङ, इन्सुरेन्स, हाइड्रो पावर, म्यानुफेक्चर र माइक्रो फाइनान्स क्षेत्रमा शेयर लगानीकर्ताहरुको बढी आकर्षण देखिएको प्राइमो सेक्युरिटी प्रालिले जनाएको छ। वीरगंजको नासा र प्राइमोमा करिब ५-५ हजार लगानीकर्ताको खाता रहेको तर दैनिक सक्रिय शेयर कारोबारीको सख्या करिब २ सयको हाराहारीमा रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell