PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउन सफल राजदूत लीलामणिले कस्तो 'पोलिटिकल डिल' गर्न सकेनन् र बोलाइए फिर्ता?



विधुर ढकाल

चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउन सफल राजदूत लीलामणिले कस्तो 'पोलिटिकल डिल' गर्न सकेनन् र बोलाइए फिर्ता?

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सरकारले सिफारिस गरेका राजदूतहरुको नाम फिर्ता लिँदै उनीपछि प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ राजदूतको नाम सिफारिस गरेका थिए। ओली सरकारको सिफारिसमा परेका चीनका लागि महेन्द्रबहादुर पाण्डेलाई प्रचण्ड नेतृत्वको सरकारले २०७३ साल साउनमा फिर्ता लियो। र, नयाँ राजदूतमा सिफारिस भए लीलामणि पौडेल।

प्रचण्डको रोजाइमा बेइजिङ पुगेका पौडेललाई ओली सरकारले तीन वर्ष पछि फिर्ता बोलाएको छ। र, पाण्डेलाई उनको ठाउँमा सिफारिस गरिएको छ।

राजनीतिक पृष्ठभूमिबाट तत्कालीन ओली सरकारले सिफारिस गरेका पाण्डे सहित डा‍. खड्गबहादुर केसी, डा‍. नारदनाथ भारद्वाज वाग्ले, डा. शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकालको नाम प्रचण्ड नेतृत्वको सरकारले २०७३ साउनमा फिर्ता लिएको थियो। उनीहरुलाई ओली सरकारले २०७३ वैशाख ७ गतेको बैठकबाट सिफारिस गरेको थियो।

त्यतिबेला परराष्ट्र सेवाबाट सिफारिसमा परेकाहरु राजदूतले नियुक्ति पाए। तर, राजनीतिक सिफारिसमा परेकाहरुको नाम फिर्ता लिँदै प्रचण्ड सरकारले नयाँ नाम सिफारिस गरेको थियो।

त्यतिबेला प्रचण्ड सरकारले दिल्लीका लागि दीपकुमार उपाध्याय र बेइजिङका लागि पौडेलको नाम सिफारिस गरेका थिए।

असोजको दोस्रो साता संसदीय सुनुवाईबाट अनुमोदन भएसँगै २०७३ कात्तिकमा पौडेल बेइजिङ पुगेका थिए। त्यसअघि राजदूतको रुपमा दिल्ली पुगेका उपाध्यायलाई ओली सरकारले फिर्ता बोलाएको थियो। तर, ओली सरकारले फिर्ता बोलाएका उनलाई प्रचण्ड सरकारले पुन: दिल्ली पठायो।

संसदीय सुनुवाई समितिमा तत्कालीन एमालेले उपाध्यायको सिफारिसको विरोध गरे पनि पौडेल सर्वसम्मत अनुमोदनमा परेका थिए।

सर्वसम्मत भइ बेइजिङ पुगेका पौडेललाई तीन वर्ष चार महिनामा फिर्ता बोलाएको छ। हुन त उनको कार्यकाल धेरै बाँकी थिएन।

पौडेललाई सिफारिस गर्ने व्यक्ति नै अध्यक्ष भएको पार्टी नेकपाका अर्का अध्यक्ष ओली नेतृत्वको सरकारले एक्कासी फिर्ता बोलायो।

फिर्ता बोलाउने निर्णयबारे जानकारी दिँदै परराष्ट्र मन्त्री ज्ञवालीले उच्च राजनीतिकस्तरको व्यक्ति पठाउनका लागि त्यसो गरिएको जानकारी दिए।

'उहाँको कार्यशैलीमाथि प्रश्न होइन। उहाँ निष्ठावान, अझै उच्च राजनीतिक तहमा उच्च स्तरको व्यक्ति पठाउनका लागि फिर्ता बोलाउने निर्णय भएको हो,' ज्ञवालीले भने, 'उच्च व्यक्ति हुँदा राजनीतिक डिल गर्न सहज हुन्छ।'

मन्त्री ज्ञवालीले पौडेलको स्थानमा कसलाई फिर्ता पठाउने भन्ने विषयमा भने खोलेनन्। यद्यपि, आइतवारकै मन्त्रिपरिषदको बैठकले पौडेललाई फिर्ता बोलाउँदै पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको मिडियामा आइसकेको छ। प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई महेन्द्र पाण्डेसँग कुरा गर्न निर्देशन दिइसकेका छन्। ज्ञवालीले पाण्डेसँग छलफल गरिसकेका छन्।

राजदूतको रुपमा पौडेल कति सफल कति असफल?

कुटनीतिक हिसाबले लीलामणि पौडेलको चीनमा दोस्रो पटकको कार्यकाल हो। तिब्बतमा महावाणिज्यदूतका रुपमा उनले एउटा कार्यकाल पूरा गरिसकेका थिए। उनको त्यही अनुभवलाई आधार मानेर राजदूतका रुपमा पठाइएको थियो।

चीनका लागि नेपालका राजदूत भएर बेइजिङ पुगेका पौडेलले यसबीच ठूलो कुटनीतिक उपलब्धी दिलाएका छन्। उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि राष्ट्रपतिले नेपालको भ्रमण गरेका छन्।

प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई नेपाल भ्रमण गराउने गृहकार्य थालेका थिए उनले। सोही अनुरुपको जिम्मेवारी बोकेर पौडेल बेइजिङ पुगेका हुन्। तीन वर्षको गृहकार्यपछि राष्ट्रपति सीले गएको असोजमा नेपालको दुई दिने भ्रमण गरे।

यसबीच नेपालबाट पटकपटक उच्चस्तरीय राजनीतिक नेतृत्वले चीन भ्रमण गरेको छ।

चीनबाट पनि नेपालमा राष्ट्रपति बाहेक उपप्रधानमन्त्रीस्तरको भ्रमण भएको छ। उपप्रधानमन्त्री वाङ याङले २०७४ साउनमा नेपालको भ्रमण गरे।

उनकै कार्यकालमा नेपालले चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को फ्रेमवर्कमा नेपालले २०७४ मा हस्ताक्षर गर्‍यो। त्यस्तै चिनियाँ रक्षामन्त्रीले नेपालको भ्रमण गरे।

यसबीच नेपाल चीन पारवहान सन्धीको प्रोटोकलमा हस्ताक्षर भएको छ। दुई देशबीच हवाइ उडान सम्बन्धी सम्झौताको पुनरावलोकन भएको छ। मुख्य कुरा पाँच वर्ष देखिको पर्खाइ चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्पन्न भएको छ।

उनकै कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ पाएको छ। चिनियाँ राष्ट्रपति सी र नेपाली नेताहरुले नै यसलाई बताउँदै आएका छन्। यसरी हेर्दा उनको कार्यकाल सफल भएको छ।

मुख्य सचिवको प्रभावकारी जिम्मेवारीसमेत सम्हालिसकेका पौडेल पछिल्लो समय कोरोना भाइरसका कारण ज्यादै सक्रिय देखिएका थिए। चीनबाट फैलिएको कोरोनाविरुद्ध लड्न नैतिक बल प्रदान गर्न उनले अन्य देशका राजदूतहरुले झै एक्यवद्धताका कार्यक्रमहरु आयोजना गरे। वुहानमा रहेका नेपालीलाई काठमाडौं फिर्ता ल्याउन उनको मुख्य भूमिका रह्यो। उद्धारमा सरकार सुस्त हुँदा चीनमै रहेर भिडियो कन्फ्रेन्स र रेकर्डेड अडियो मार्फत् उनले नेपालीलाई सहज बनाउन सक्दो प्रयास गरे। उनकै कुटनीतिक पहलमा नेपाल ल्याइएकाहरु क्वारेन्टाइन अवधी पूरा गरि घर फर्केका छन्। उनीहरुलाई घर फर्काउने अघिल्लो दिन चाहिँ सरकारले राजदूत पौडेललाई फिर्ता डाक्ने निर्णय गर्‍यो।

के राजनीतिक डिल गर्न सकेनन् पौडेल र फिर्ता बोलाइए?

परराष्ट्रमन्त्रीकै भनाइ मान्ने हो भने पनि उनको दक्षतामा खोट लगाउने ठाउँ छैन। तर, राजनीतिक डिल गर्न सहज हुने गरी राजनीतिक व्यक्तिलाई पठाउन फिर्ता बोलाइएको ज्ञवालीको भनाइ छ।

यसलाई मान्ने हो भने भोली चीनसँग हुने राजनीतिक डिलले पौडेलले के गर्न सकेनन् भन्ने खुल्नेछ। अथवा राजनीतिक नेतृत्वको स्वार्थ अनुरुप चिनियाँ नेतृत्वसँग 'डिल' गर्न नगरिदिएर उनलाई फिर्ता बोलाइएको हो, त्यो पनि खुल्दै जाने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell