PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विपत्तिमाथि फिल्म बनाउँदै गर्दा निकोलसले भोग्नु पर्‍यो उस्तै कथा : कोरोनाको कहरले धरापमा फिल्म उद्योग



पहिलोपोस्ट

विपत्तिमाथि फिल्म बनाउँदै गर्दा निकोलसले भोग्नु पर्‍यो उस्तै कथा : कोरोनाको कहरले धरापमा फिल्म उद्योग

सन् १३४७ देखि १३५१ सम्म युरोपमा महामारी फैलियो। एर्सिनिया पेस्टिस नामक ब्याक्टेरियाका कारण निमोनिया, सेप्टिसिमिया, बुबोनिक लगायत संक्रमणहरु तीब्र गतिमा फैलिए। युरोपको सामाजिक, आर्थिक, धार्मिक एवम् राजनीतिक अवस्था उथलपुथल भयो। नतिजा- युरेसियाका करोडौं मानिस मरे। जसलाई 'ब्ल्याक डेथ'को शिकार भनियो। उक्त विपत्तीका कारण युरोप दश वर्ष पछाडि धकेलियो भनिन्छ।

इटालियन लेखक जिओभानी बकाचिओको छोटा कथाहरुको संग्रह छ 'डेकामेरोन'। संग्रहमा उनले सातजना युवाले भनेका र भोगेका यस्तै कथाहरु छन्। ती युवा जो एर्सिनिया पेस्टिसबाट बच्न एकान्तमा रहेको एक घरमा लुके। र, बाँच्न सफल भए। उनीहरुले सुनाएको त्रास अनि आशको कथा, हाँस्यास्पद् अनि दु:खद् घटनाहरु, यौन जीवनको कथा र गुप्त बासको समग्र डकुमेन्टेसन हो- 'डेकामेरोन'।

२०२० को फेब्रुअरी २९। शनिबारको दिन फिल्म छायांकनका लागि लण्डनबाट इटलीको भेनिस पुगे बेलायती फिल्मकर्मी निकोलस हल्बर्ट। उनी डेकामेरोनकै एक कथामाथि फिल्म बनाउँदैछन्।

सोमवार कथामा व्याख्या गरिएजस्तै इटालीको लुगोस्थित एक भवनमा थियो निकोलसको टोली। अचानक उनलाई आमाले इमेल गरिन्।

'त्यहाँ सबैकुरा राम्रै भइरहेको छ भन्ने आशा गर्दछु।'

आमाले लेखेको पहिलो वाक्यले उनलाई खुशी तुल्यायो। पढ्दै जाँदा उनी हच्किए। लेखिएको थियो - 'कोरोना भाइरसको बारेमा जानकार छौ होला। तिमीले त्यस विषयमा विचार गर्नुपर्छ। मलाई थाहा छ तिमीले चाहेजस्तै भइरहेको छ। तर, कोरोना भाइरसले निम्त्याएको अवस्था पनि चिन्ताजनक छ। यो इमेलका लागि माफी चाहन्छु। धेरै माया।'

'धन्यवाद आमा'- उनले आमाका लागि लामो सन्देश लेखेनन्।

एउटा प्राकृतिक विपत्तीले जन्माएको कथामाथि फिल्म बनाउँदै गर्दा अर्को प्राकृतिक विपत्तीले पूरा विश्वलाई त्रसित बनाइरहेको थियो।

कस्तो संयोग!

उनी छक्क परे। अनि उनी ठीक त्यस्तै भवनमा थिए जसलाई १४ शताब्दीमा सात युवाले 'क्वारेन्टाइन' बनाएका थिए।

न्यूयोर्क टाइम्ससँगको अन्तर्वातामा उनले भनेका छन्, 'हामीले काम गरिरहेको घटनाक्रम र कोरोना भाइरसले निम्त्याएको घटनाक्रमबीच तालमेल मिल्नु नाटकीय लागेको छ। तर, जे भइरहेको छ त्यो दु:खद् छ।'

त्यो एकान्तमा रहेको भवनमा बसेर कोरोना भाइरसबारे खबरहरु पढ्नु, उनीहरुका लागि कथाकै प्लटमा बाँच्नु सरह बनेको छ। त्यही डर अनि प्राथना, बाहिरबाट सोधिने प्रश्न र आउने सन्देश पनि उस्तै। 'कलाकारहरु खानाको टेबलमा पनि चिन्तित देखिन्छन्। थाहा पाउँदिन उनीहरु साँच्चै चिन्‍तित छन् वा पात्रको तयारी गर्दैछन्, ' उनले भनेका छन्।

हालसम्म इटालीमा हजार जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। अनि ३४ जनाले त संक्रमणकै कारण ज्यान गुमाइसके। निकोलसको टोली त्यहाँ पुग्नु अघि नै इटाली सरकारले कार्यालय, विद्यालयहरु बन्‍द गरिसकेको थियो। त्यहाँ हुने सामूहिक जमघट, सांस्कृतिक एवं खेलकुदका कार्यक्रमहरुमा पनि रोक लगाइसकेको थियो।

धन्न उनीहरुको छायांकनस्थल नै 'आइसोलेसन' सरह रहेछ। 'क्रु' बाहेक बस्ने होटलका एक साहुसँग सम्पर्क राख्छन्। भाइरसका कारण ठप्प व्यापारले गर्दा उनी आक्रोशित छन्। र, दोस्रो सम्पर्क राख्ने चाहिँ भवनका मालिक हुन् जहाँ फिल्म खिचियो।

बिहीवार छायांकनको काम सक्काए उनले। शनिबार बेलायत फर्किए। सबैभन्दा ढुक्क निकोलसकी आमा भइन् होला, सायद।

निकोलस र अन्य क्रु त अब फिल्म पोस्ट प्रोडक्सनमा व्यस्त हुनेछन्। तर, अहिले पोस्ट प्रोडक्सन सकेर बजारमा आइसकेको र आउने तयारीमा रहेका फिल्म, फिल्मकर्मी, वितरकदेखि हल व्यवसायीसम्मलाई कोरोनाको कहरले आतंकित छन्।

कोरोना भाइरसको महामारी सुरुवात भएको मुलुक चीन फिल्मको अमेरिका र क्यानडापछिको ठूलो बजार हो। महामारी फैलिएपछि चीनको फिल्म उद्योग ठप्प छ। एक महिना भयो त्यहाँका सत्तरी हजार फिल्म हल खुलेका छैनन्। दश अर्ब डलरभन्दा बढी घाटा फिल्म उद्योगबाटमात्र व्योहोरी सक्यो चीनले।

असर, चिनियाँसँगै हलिउड र बलिउडमा पनि परेको छ। जेम्स बन्डको 'नो टाइम टु डाइ'ले चीन प्रदर्शनको मिति तय गरिसकेको थियो। फिल्मका कलाकारको चीन भ्रमण र प्रचार प्रसारका कार्यक्रमहरु पनि तोकिएको थियो। तर, अब बन्द भएका हल कहिले पुन: सञ्चालनमा आउँछन्, निश्चित छैन। बन्डका यसअघिका फिल्महरु 'स्पेक्टर' र 'स्काइफल'ले चीनबाट मात्र क्रमश ८३ करोड पचास लाख डलर र दश करोड डलर कमाएको थियो।

आफ्नो बिरामी बुबालाई सेनाका लागि लड्न जानबाट रोक्न खोज्छिन्, हुवा मुलानले। उनी एक साहसी युवती हुन् जो उत्तरी भेगबाट चीन पसेका दुस्मनहरुसँग लड्न पुरुषको भेषमा मैदान छिर्छिन्। यही कथामा आधारित डिस्नीको अमेरिकन इपिक ड्रामा 'मुलान'का लागि चीन सबैभन्दा ठूलो बजार रहेको बक्सअफिसडटकमका विश्लेषक सान रबिन्सले त दाबी नै गरेका थिए।

मिडिया विश्लेषक पल डर्गाराबेडीयनले चिनियाँ हलहरु तत्काल पुन: सञ्चालनमा आए पनि कोरोनाको त्रासका कारण दर्शक हलसम्म नआउने बताएका छन्। उनले बिजनेस इन्साइडरसँग भनेका छन्, 'यो विपत्तीले निम्त्याएको अवस्था नाटकीय छ। प्रभाव २०२० मा रिलिज टार्गेट गरेका फिल्महरुमा स्वभाविक रुपमा देखिन्छ।'

अमेरिकन थिएटर चेन एएमसी थिएटरका सिइओ एडम अरोनका अनुसार कोरोना भाइरसका कारण एएमसी बक्सअफिस प्रभावित छ। इटालीका ४७ हलहरुमध्ये २२ वटा एक साताभर बन्द रह्यो। इटाली सरकारको निर्देशनमा हलहरु बन्द भएका हुन्।

बलिउडको पनि ठूलो व्यापारिक हब हो चीन। सन् २०१६ को बलिउड हिट फिल्म 'दंगल'ले चिनियाँ बक्सअफिसमा ऐतिहासिक रेकर्ड बनायो। फिल्मले एक सय एकानब्बे मिलियन अमेरिकी डलर कमाएको थियो। दंगलका कारण अन्य बलिउड फिल्म केही हप्ता प्रदर्शन होल्ड समेत भए।

आमिर खान त्यस्ता कलाकार हुन् जसको चीनमा अत्याधिक फ्यान छन्। उनका 'थ्रि इडियट्स', 'पिके', 'सेक्रेट सुपरस्टार' लगायत फिल्मले पनि निकै लोकप्रिय भए।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै आमिरले भिडिया सन्‍देश सार्वजनिक गरेका थिए। उनले भिडियोमा भनेका छन् - चीनमा कोरोना भाइरसको महामारी फैलिएको खबरले दु:खी छु। मलाई थाहा छ यो निकै अप्ठ्यारो घडी हो। आशा गर्छु सरकार र सम्बन्धित निकायको पहलमा यो सबै चाँडो भन्दा चाँडो नियन्त्रणमा आउँछ। आफन्त गुमाउनु भएका सम्पूर्णमा समवेदना व्यक्त गर्न चाहन्छु।

आमिर बोलेको भिडियो साउथ चाइना मर्निङपोस्टले राखेको छ।

आमिरबाहेक अन्य बलिउड स्टारका फिल्मले पनि चीनमा दर्शक तथा फिल्मकर्मीको साथ पाएको छ। सलमान खान अभिनित फिल्म 'ट्युबलाइट'मा चाइनाको अभिनेत्री जुजुको मुख्य अभिनय रहेको थियो। उक्त फिल्म दुवै देशको संयुक्त निर्माण हो।
सन् २०१६ मा दुई देशको फिल्म उद्योगबीच राज कपूरको फिल्म 'आवरा'को चीनका लागि थिएटर भर्सन बनाउने सम्झौता समेत भएको थियो। आवरा चीनमा निकै रुचाइएको फिल्म हो।

सहकार्य र दर्शक 'फ्लो'का कारण चिनियाँ बजारमा बिस्तारित बलिउड बक्सअफिस पनि कोरोनाका कारण प्रत्यक्ष प्रभावमा परेको छ।

सन् २०१९ मा मात्र नौ अर्ब बीस करोड डलर संकलन गरेको थियो चीनमा। विश्व बक्स अफिसको कुल कलेक्सनको २० प्रतिशतभन्दा बढी हिस्सा चीन एक्लैसँग हुने गर्छ।

कोरोना भाइरसका कारण उत्साहजनक बक्सअफिस कलेक्सनमा ह्रास मात्रै आएको छैन, कारोबार नै ठप्पै भएको छ। यसको असर आगामी वर्षसम्म देखिने मिडिया विश्लेषक पलको दाबी छ। चीनमा फिल्म सम्बन्धि कुनै पनि गतिविधि शून्य छ। कन्सर्ट, फेसन सुट र र्‍याम्प वाक रद्द गरिएका छन्।

कोरोना भाइरसका कारण हालसम्म करिव तीन हजार जनाको मृत्यु भइसकेको छ। त्यस्तै ८८ हजार भन्दा बढी संक्रमित छन्। यस अवस्थामा मनोरञ्जन क्षेत्रमा प्रभाव पर्नु स्वभाविक पनि हो। तर, केही महिनादेखि कमजोर बक्सअफिस कलेक्सन गरिरहेको नेपाली फिल्म क्षेत्रमा यसले असर पारेको छ कि छैन त?

'नेपाली फिल्मकर्मी, बितरकदेखि हल संचालकसम्म डराएको अवस्था थियो। नेपाली फिल्म नचल्ने, विदेशी फिल्म पनि लाखौं खर्च गरेर ल्याउँदा समेत पैसा नउठ्ने अवस्था थियो तर गत सातादेखि केही राहत मिलेको छ सबैलाई,' वितरक गोविन्द शाहीले भने।

प्रदर्शनरत् 'सेन्टी भाइरस' वितरक रहेका उनले फिल्मले हालसम्म चार करोडभन्दा माथिको व्यापार गरिसकेको दाबी गरे। पछिल्‍लो समय फिल्मले तीन दिन पनि दर्शक नतानेको अवस्थामा 'सेन्‍टी भाइरस' र 'आमा'को व्यापारले ओरालो लागेको फिल्म बजार उकास्न सकारात्म भूमिका निर्वाह गरेको बताए। भने, 'कोरोनाको खबरले आतंकित तुल्याए पनि मानिस हलमा आइरहेका छन्। आशा गरौं हामी त्यो संक्रमणबाट बच्न सकौं।'

शाहीले भनेजस्तै भाइरसले फिल्मकर्मीदेखि दर्शकहरुलाई आतंकित तुल्याएको भने छ। अभिनेत्री करिश्मा मानन्धरले हरेक वर्ष निजी निवासमा आयोजना गर्दै आएको होली कार्यक्रम यस वर्ष नगर्ने घोषणा गरेकी छिन्।

कतिले भने 'विदेशमा कोरोना भाइरस। नेपालमा सेन्टी भाइरस।' भन्ने ट्रोल बनाउँदै फिल्मको प्रचार समेत गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतवार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा ठूला सभा सम्मेलन र भोज नगर्न आग्रह गरेका छन्। उनको भनाइ मान्ने हो भने फिल्म हलमा जानु पक्कै सहज अवस्था होइन।

उनले भनेजस्तै धेरै मानिस जम्मा हुने केन्द्रमा पर्छ फिल्म हल एवं अन्य मनोरञ्जनात्मक गतिविधिका हबहरु। तर, सरकारले सिनेमा क्षेत्रमा कोरोनाका कारण पर्न सक्ने सम्भावित असरहरु बारे भने मुख खोलिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell