PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा, दुई होटल सञ्चालकसहित ५ जना पक्राउ, एक महिला फरार



रासस

बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा, दुई होटल सञ्चालकसहित ५ जना पक्राउ, एक महिला फरार

बनेपा : बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।

उनका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र वडा नं ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्ट हाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धर रहेका छन्। मेलम्ची नरपालिका–७ घर भई हाल बनेपा–८ मा बस्दै आएका तिमिल्सिनाले सञ्चालन गरेको होटलमा युवती राखेर अवैध यौनधन्दा गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित अन्य एक महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सगरमाथा एन्ड गेष्ट हाउसका सञ्चालक मानन्धरसहित अन्य दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। मानन्धरकी साझेदार बनेपा नगरपालिका–१२ की चाँदनी भन्ने मनमाया तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ। 'बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा सञ्चालन गर्दै आएको पाइएका कारण हामीले सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ', प्रहरी निरीक्षक तिमिल्सिनाले भने, 'यसअघि पनि यस्तै कार्यमा संलग्न पाइएको बनेपा पुलबजारस्थित सञ्चालनमा रहेको सेभेनडेज खाजाघर नामक होटल कारवाहीमा परेपछि बन्द भएको छ।'

प्रहरीले त्यस्तो धन्दामा संलग्न होटल करिब २० जति रहेको र ती होटललाई निगरानी गरिरहेको जनाएको छ। बजार क्षेत्रमा युवती जम्मा गर्दै अवैध यौनधन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीले अनुसन्धान कार्यलाई तीव्र पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell