
काठमाडौं : लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे जगत भएर मनाङ पुग्नेहरुको लस्कर हुन्थ्यो। लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुने भएकाले पनि यहाँका अधिकांश स्थानीय पर्यटन व्यवसायमा संलग्न थिए।
गत वर्ष होटल संचालक विनोद गुरुङलाई पर्यटक अटाउन हम्मेहम्मे परेको थियो। होटलको कोठाले नपुगेर टेन्टमा समेत पर्यटक राखेका थिए उनले।
यसरी विगतका वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यस समयमा अहिले पर्यटक छैनन्।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको हो। पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन्। कहिले हिमपात त कहिले माहामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मर लामाले बताए। उनका अनुसार अनुसार दुई चार दिन अघिसम्म एक दुई जना पर्यटक देखिए पनि हाल भने व्यवसाय ठप्प छ। उनले भने, 'पर्यटक नआउनुको चिन्ताभन्दा बढी रोग सर्ला कि भन्ने डरले सताएको छ।'
जिल्ला प्रशासन कार्यालय मनाङले पनि विदेशी पर्यटकसँग सचेत रहन र कोरोना भाइरसका बारेमा सचेत रहन आग्रह गरेको छ। त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले पनि पर्यटकीय क्षेत्रमा आउने विदेशी पर्यटकसँग सचेत रहन सूचना जारी गरेको छ।