PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रेशम चौधरीको रिहाई माग गर्दै थरुहट–थारुवान मोर्चाको आम हड्ताल, सुदूरपश्चिमको जनजीवन प्रभावित



एम बम

रेशम चौधरीको रिहाई माग गर्दै थरुहट–थारुवान मोर्चाको आम हड्ताल, सुदूरपश्चिमको जनजीवन प्रभावित

कैलाली : थरुहट–थारुवान राष्ट्रिय मोर्चाले तराईमा गरेको आम हड्तालका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण कन्चनपुर तथा कैलालीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प छन्। यसको असर पहाडी जिल्लामा समेत परेको छ।

दुबै जिल्लामा बजार, शिक्षण संस्था पनि बन्द छन्। यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढी र महेन्द्रनगरमा अलपत्र परेका छन्। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन आमहड्तालको घोषणा गरेको हो।

आफ्ना माग पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा पनि आज र भोलि आम हडतालको कार्यक्रम घोषणा गरेको मोर्चाका संयोजक लक्ष्मण थारुले बताए।

आम हड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रूपमा बन्द रहने जनाइएको छ। आम हड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ।

रेशम चौधरीसहित ११ जना जेल बन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका १४ बुँदे माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।

आन्दोलनमा आदिवासी जनजाति महासङ्घ, मिसन अम्बेडकर नेपाल, खसान सङ्घर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत सङ्घ संस्थाले ऐक्यबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell