PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विश्वकप छनोटको तयारीमा नेपाली फुटबल टिम, प्रशिक्षक कालिन भन्छन् : राम्रो खेल देखाउने छौं



मुकुन्द घिमिरे

विश्वकप छनोटको तयारीमा नेपाली फुटबल टिम, प्रशिक्षक कालिन भन्छन् : राम्रो खेल देखाउने छौं

काठमाडौं : कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपालले सबै अवे गेम खेलिसकेको छ। बाँकी छ त होम गेम। त्यसका लागि केही दिनयता नेपाली टिमको बन्द प्रशिक्षण शुरु भएको छ। पुराना र नयाँ अनुहार समेटेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडीहरुको बन्द प्रशिक्षण चलिरहेको छ।

शहीद स्मारक ए डिभिजन लिग सकिएसँगै खेलाडीहरु मोफसलका लिगहरुमा ब्यस्त रहे। यसैबीच बन्द प्रशिक्षण सुरु भयो र राष्ट्रिय टिमको प्रशिक्षणका लागि फर्कँदैछन्। हुन पनि लिगको चटारो छ खेलाडीलाई। पूर्वको माइभ्याली गोल्डकपदेखि पश्चिमको खप्तड गोल्डकपसम्म चलिरहेको छ। लगभग सँगसँगै। तर, नजिकिँदो अस्ट्रेलिया र चाइनिज ताइपेइसँगको म्याचका कारण राष्ट्रिय टिमका खेलाडीहरु क्याम्पमा फर्किए।

यता विश्वकप छनोटको तयारीकै लागि भनेर दशरथ रंगशालामा दुबो रोप्ने काम शुरु भएको छ। उता सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा खेलको लागि भ्याइनभ्याइ छ। बिहान राष्ट्रिय टिमको प्रशिक्षणदेखि लिएर दिउँसो शहीद स्मारक बी डिभिजन लिग भइरहेको छ त्यहाँ। बिहान १० बजे सातदोबाटो पुग्दा खेलाडी र प्रशिक्षक योहान कालिन तयारीमा ब्यस्त देखिन्थे।

'हामी ट्रेनिङमा फर्किएका छौं। भर्खरै 'ए' डिभिजन लिग सकिएको छ। म्याचहरु नजिकिँदै छन्', नेपाली टिमका प्रशिक्षक योहान कालिनले भने, 'यसभन्दा अघि(कुवेतसँग) टिमले राम्रो प्रदर्शन गरेको थियो। अब हामीले खेल्ने दुवै टिमहरु राम्रा छन्। त्यही अनुसार तयारी सुरु गरेका छौं।'

यसअघिका खेलहरुमा नेपालले चाइनिज ताइपेइमाथि मात्र जित निकालेको थियो। तर, त्यसो भन्दैमा चाइनिज ताइपेइलाई कमजोर टिमको रुपमा हेर्न नहुने कालिनको बुझाइ छ। 'चाइनिज ताइपेइलाई कमजोर टिमका रुपमा लिइनु हुँदैन यो खेल पनि नेपालका लागि टफ गेम हो। यद्यपि हामीलाई फेरि एकपटक उनीहरुलाई जित्ने मौका भने हुन सक्नेछ', उनले भने।

त्यसो त क्याम्पमा सबै खेलाडी आइपुगेका छैनन्। मोफसलमा खेलिरहेका कतिपय खेलाडी आइपुग्न बाँकी छ भने विदेशी लिग खेलिरहेका किरण चेम्जोङ र रोहित चन्द पनि नेपाल फर्कन बाँकी छ।

प्रशिक्षक कालिन नेपालले लामो समयपछि घरेलु मैदानमा खेल्न पाउँदा राम्रो खेल पस्कने तयारी रहेको बताउँछन्। तेह्रौं दक्षिण एसियाली खेलकुदका क्रममा भरिएको रंगशालामा समर्थकहरुले फुटबलप्रति देखाएको उत्साहलाई नियालेका कालिन राष्ट्रिय टिमको खेल घरेलु मैदानमा आउँदै गर्दा उत्साहित सुनिन्छन्।

'नेपालले लामो समय घरेलु मैदानमा खेल्न पाएको छैन। त्यसको अवसर अब आउँदैछ। त्यसका लागि म उत्साहित छु', कालिनले नेपालको खेलबारे कुरा गर्दै भने, 'अघिल्लो खेलमा नेपालले भुटानमा राम्रो प्रदर्शन गरेको थियो। त्यसलाई अझ निखार ल्याउन चाहन्छु। अस्ट्रेलिया धेरै बलियो टिम छ। उनीहरुको लेभल धेरैमाथि छ। बुन्डेसलिगा लगायत युरोपका ठूला लिगहरुमा खेलिरहेका व्यवसायिक खेलाडी उनीहरुसँग छन्। उनीहरुलाई हाम्रो समूहका अन्य टिमसँग तुलना गर्नु सही नहुन सक्छ। हामी राम्रो खेल खेल्न चाहन्छौं।'

नेपालले चाइनिज ताइपेइसँग २६ तारिख र अस्ट्रेलियासँग ३१ तारिखमा खेल्दैछ। यसअघि अवे गेममा नेपालले चाइनिज ताइपेइलाई २-० ले हराउँदा अस्ट्रेलियासँग ५-० को अन्तरले पराजित भएको थियो।

यसअघि कुवेतसँगको 'होम गेम' दशरथ रंगशालामा गराउने एन्फाले प्रयास गरे पनि रंगशाला निर्माण भइनसकेको भन्दै खेल भुटानमा सारेको थियो।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ छन्। 'होम र अवे'का आधारमा हुने खेलमा नेपालले सबै 'अवे गेम' र एउटा 'होम गेम' खेलिसकेको छ। जसमा नेपालले चाइनिज ताइपेइसँगको अवे गेममा जित निकाल्दा बाँकी सबै खेलमा हार ब्यहोरेको छ।

नेपाल रहेको समूहमा अस्ट्रेलिया ४ खेल खेल्दै शतप्रतिशत जित निकालेर १२ अंकसहित तालिकाको शीर्षस्थानमा छन्। त्यस्तै समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमश अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानमा १ जित निकालेर ३ अंक जोडेको नेपाल छ भने जितविहीन चाइनिज ताइपेइ तालिकाको पुछारमा छ।

डर कोरोनाको

नेपालले फुटबलमा लामो समयपछि घरेलु मैदानमा ठूलो प्रतियोगिता आयोजना गर्दैगर्दा कोरोना भाइरस प्रकोपले खेल प्रभावित हुनसक्ने शंकाहरु उब्जिएका छन्। चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ५८ देश प्रभावित भइसकेका छन्। त्यसमा पनि नेपाल खेल्न आउने चाइनिज ताइपेइमा ३९ जनामा कोरोनाको सङ्क्रमण पाइसकिएको छ भने १ जनाको मृत्युसमेत भइसकेको छ। त्यस्तै अर्को नेपाल आउने टोली अस्ट्रेलियामा पनि २५ जनामा सङक्रमण पाइसकेको छ। नेपालमा भने हालसम्म कोरोनाको सङ्क्रमण पाइएको छैन। यस्तोमा ठूलो संख्यामा मानिसहरु जम्मा हुने हुनाले फुटबल प्रभावित हुनसक्ने सम्भावना पनि रहेको छ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

विकेश कुथु, विशाल श्रेष्ठ, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विशाल राई 'बि', सेसेहाङ आङदाम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्चेन तामाङ, पुजन उपरकोटी, एरिक बिस्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन विष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, बिमल राना, अभिषेक रिजाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell