
करिब नौ महिना पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी पूरा गरी एसपी सोमेन्द्रसिंह राठौरको काठमाडौं सरुवा भयो। प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जिल्लाको जिम्मेवारी सम्हाल्ने मौका पाइन। एसपी पन्त तिनै प्रहरी अधिकृत हुन् जसलाई पुस ४ गते प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवन पठाएको थियो। तर राजनीतिक खिचातानीका कारण उनी सरुवा भएको जिल्लाको चार्ज बुझ्न पाइनन्। त्यसपछि उनलाई अर्को सरुवामा पर्सा प्रमुख बनाएर पठाइयो। तराईमा पहिलोपटक त्यसमा पनि खुला सिमाना, आपराधिक गतिविधि बढी हुने र चुनौतीपूर्ण जिल्लाको रूपमा चिनिने पर्सा सम्हाल्न उनका योजना र लक्ष्यका विषयमा पहिलोपोस्ट सम्वादाता राधेश्याम पटेलले गरेको कुराकानीको सम्पादित अंश:
पहिलोपटक पर्साको प्रहरी प्रमुख भएर आउँदा कस्तो अनुभूति गर्दै हुनुहुन्छ?
मैले यसलाई सामान्य रूपमा लिएकी छु। म यहाँ आएपछि यहाँका दिदीबहिनीहरू बढी उत्साहित भएको पाएको छु।
तपाईको पहिले चितवनमा सरुवा भयो। तर त्यहाँ पठाइएन, यसलाई कसरी लिनुभएको छ ?
यसलाई मैले सामान्य रूपमा लिएकी छुँ। विशेष कारणवश म चितवन जान पाइनँ। आदरणीय पूर्वआइजिपी (सर्वोन्द्र खनाल) साबले मलाई चूनौतीपूर्ण जिल्ला पर्साको कमान्ड सम्हाल्न अवसर दिनुभएको छ। मैले विगतमा नेपाल प्रहरीमा दिएको योगदानको मूल्यांकन गर्दै उहाँले यो अवसर दिनुभएको हो।
प्रहरी सेवासम्मको यात्रा कसरी तय भयो?
मेरो जन्म तनहुँमा भएको हो। विद्यालय जीवन त्यही बिताए। त्यसपछि पद्मकन्या क्याम्पस, काठमाडौंमा स्नातक गरेर २०५६ सालमा प्रहरी सेवामा प्रहरी निरीक्षकको पदमा प्रवेश गरेँ।
अहिलेसम्म तपाईंले हल गर्नु भएको सम्झिन लायकका घटना के छ?
विशेषगरी, म तीन वर्षसम्म अपराध अनुसन्धान शाखामा बसे। त्यसक्रममा राष्ट्रिय वाणिज्य बैंकमा दुई करोड २० लाख रुपैयाँको एउटा चोरी भएको थियो। त्यसको प्रमुख अनुसन्धानकर्ता म नै थिए। द्वन्द्वकालमा काठमाडौंमा थुप्रै लुटपाटका घटना घटेका थिए। त्यसमध्ये धेरैजसो मुद्दाहरू मैले हेरेकी थिए। त्यसपछि म जहाँ–जहाँ गए, अपराध घटेको अवस्था छ। पर्सामा भने हेर्न बाँकी छ।
प्रहरी सेवामा उच्च प्रहरी अधिकृतको आफ्नो परिभाषा र काम गर्ने शैली हुन्छ। तपाईंको अनुसार प्रहरीको परिभाषा कसरी दिनुहुन्छ, तपाईंको कार्यशैली कस्तो हुनेछ ?
प्रहरीको मुख्य काम शान्ति सुरक्षा र समाजमा अमनचयन कायम गर्ने हो। त्यस अतिरिक्त प्रहरीका थुप्रै काम हुन्छन्। हरेक काम शान्ति सुरक्षासँग जोडिएको हुन्छ। समाजलाई सही दिशामा लैजान प्रहरीको मुख्य भूमिका हुन्छ। म पनि प्रहरीलाई शान्ति सुरक्षासँगै जोडेर हेर्छु। प्रहरी एउटा सेवामुलुक र राज्यको महत्वपूर्ण अंग हो।
भारतसँग खुला सिमाना जोडिएको जिल्ला भएको हुँदा पर्सामा आपराधिक गतिविधि बढी हुने गरेको छ, यो चुनौतीको सामना गर्न तपाईंको रणनीति के छ?
यो जिल्लाको चुनौती भनेको खुला सिमाना हो। त्यसमा पनि मुलुककै प्रमुख व्यापारिक नाका र औद्योगिक करिडोर भएकोले आर्थिक अपराधका घटना पनि हुने गरेका छन्। सर्वप्रथम त्यस्ता घटना हुन नदिने मेरो पहिलो प्राथमिकता हुनेछ। भएका घटनाहरूलाई उचित हिसाबले अनुसन्धान गर्दै पहिलेका घटनाहरूलाई निचोड दिने लक्ष्य लिएकी छु।
तपाईं पर्सा आएको लगभग तीन साता हुन लागेको छ, मातहतका प्रहरीको समन्वय, कार्यशैली कस्तो पाउनुभयो?
मलाई कस्तो लाग्छ भने जिल्लाको मुख्य व्यक्ति कसरी चल्छ, त्यसरी नै ऊ मातहतका कर्मचारीहरू चल्ने हो। कमी कमजोरी छँदै छैन भन्ने म मान्दिन। निष्पक्ष पुलिसिङ गर्ने गराउने मेरो नीति हुनेछ। भर्खरै एउटा हुन्डी कारोबारीसँग मिलोमतो गरेको अभियोगमा ३ जना सुरक्षाकर्मीलाई आवश्यक कारवाही अघि बढाएको छुँ। दण्डित नै गर्नुपर्ने अवस्था नआओस् भन्ने पनि चाहन्छु। मैले स्पष्ट निर्देशन दिएकी छु, त्यो अनुशरण नगर्नेलाई दण्डित अवश्य गर्नेछु।
मधेसमा सामाजिक विकृतिको रूपमा बालविवाह, दाइजोप्रथा, बहुविवाह, घरेलु हिंसा, लागुऔषध, मद्यपान, धुम्रपान थुप्रै समस्या छन्, पहिलेका प्रहरी प्रमुखहरू सामाजिक काममा पनि अग्रसर हुनुहुन्थ्यो, तपाईंको पनि त्यस्तै कुनै योजना छ कि?
अघिल्लो वर्षदेखि प्रहरी–समुदाय साझेदारी कार्यक्रम सञ्चालनमा छ। यसले व्यवस्थित रूपमा केन्द्रदेखि वडास्तरसम्म काम गर्ने सम्झौता भइसकेको अवस्थामा यस अन्तर्गत समाजमा नराम्रो प्रभाव पार्ने गतिविधि र तत्वलाई पहिचान गरी त्यसको न्यूनीकरणको लागि मेरो पनि योजना छ। किनभने त्यो केन्द्रीय निर्देशन अनुसारको काम पनि हो।
आपराधिक घटनामा यहाँका राजनीतिक नेताहरुको पनि संलग्नता हुने गर्छ, यसप्रति तपाईं कतिको सचेत हुनुहुन्छ?
यो पर्साको मात्र समस्या होइन। हरेक ठाउँको समस्या हो। समाजमा कुनै घटना घट्छ भने सबैभन्दा पहिला समाजका अगुवा र नेतासमक्ष यो कुरा पुग्छ, त्यस कारण उनीहरूले चासो राख्छन्। यो स्वाभाविक कुरा हो। तर, रह्यो कुरा समाज सुधार र विकासको लागि जिम्मेवारी लिने व्यक्तिले पनि सोच लिनुपर्छ कि मैले कतै गलत कार्यलाई साथ त दिइरहेको छैन। म यो जिल्लाको प्रहरी प्रमुख भएपछि यहाँका ठीक–बेठीक छुट्याएर त्यहीअनुरूप उहाँहरूसित डिल गर्छु र कानुनी रूपमा त्यस्ता समस्या समाधान गर्छु।
मधेसका चेलीबेटी प्रहरी सेवामा जान डराउँछन्, जिल्लाको प्रहरी प्रमुखको रूपमा त्यस्ता दिदीबहिनीहरूलाई तपाईंको सन्देश के छ?
मैले ठ्याक्कै विश्लेषण गरेकी छैन तर कमै हुनुहुन्छ। यस जिल्लाबाट कुल महिला संख्यामा मधेसी मूलबाट कमै हुनुहुन्छ र यसो हुनुमा कुनै पनि समुदायको रीतिरिवाज र संस्कारले पनि असर पारेको हुन्छ। अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था र यहाँका नागरिक समाजसँग पनि मधेसी चेलीबेटीहरूलाई प्रहरी सेवामा आवेदन गरी राष्ट्रसेवा गर्न म अभिप्रेरणा जगाउनेछु।