PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

धुलोमुक्त भएन काठमाडौं : भित्री सडकमा ब्रुमर लगाउन समस्या



रासस

धुलोमुक्त भएन काठमाडौं : भित्री सडकमा ब्रुमर लगाउन समस्या

काठमाडौं : भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौं महानगरपालिका (कामपा)लाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ।

आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ। विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर सञ्चालन गर्दै आएको छ। त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सहायक सडकमा खाल्डा पुर्ने काम नहुँदा धुलोमुक्त काठमाडौं हुनसकेको छैन। कामपाले नियमित धुलो सफा गरिरहेको छ। प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास र शहरी विकास मन्त्रालयले शहरको सौन्दर्यकरणका साथै अन्य योजना सञ्चालन गरिरहेकाले पछिल्लो समय उपत्यका सुन्दर देखिन थालेको छ।

मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन। भएका खाल्डा पुर्ने काम जारी छ। सडक चिल्ला र आकर्षक बन्दै छ। ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ। अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा सकारात्मक सुधार आएको छ।

सरकारले उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम गरिरहेको छ। पछिल्लो १०० दिनमा मात्रै सरकारले काठमाडौं उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको छ। यद्यपि भित्री र शाखा सडकमा समस्या यथावत छ। 

चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसमेत राखेको छ। उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति क्रमशः भएको पाइन्छ। तर, साना सडकको मर्मतसम्भारका लागि सम्बन्धित भएका निकायले त्यति ध्यान नदिँदा ठूला सडकमा पनि त्यसको असर परेको कामपाले जनाएको छ।

मुख्य सडक पनि केही वर्षअघिसम्म धुलाम्मे देखिन्थ्यो। मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठूलो मारमा पर्थे। सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए। उपत्यकाको मुख्य सडकमा अहिले त्यो समस्या निकै हराएर गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell