PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइदैन : मन्त्री खतिवडा



पहिलोपोस्ट

दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइदैन : मन्त्री खतिवडा
फाइल फोटो।

काठमाडौं : अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानुनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए। उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको बताए।

उनले भने, ‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने, ओगट्ने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अब अन्त्य हुनुपर्छ। लाइसेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिए अहिले केही दिनदेखि  सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा यहाँ पनि त्यो प्रवृति रहेछ। यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अब अन्त्य हुनुपर्छ। यसरी हुँदैन।’

मन्त्री खतिवडाले दूरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफू मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए। उनले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दबाब हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठ्ने समेत बताए। उनले अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए।

क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरीय बनाउन ध्यान दिन आग्रह गरे। उनले प्राधिकरणको व्यावसायिक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताए। जवाफदेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell