PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

‘नख्खु जेल ब्रेकर’ घिमिरे भारतमा मृत फेला



रासस

‘नख्खु जेल ब्रेकर’ घिमिरे भारतमा मृत फेला

तत्कालीन संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो।

झापाको मेचीनगर १३ दुहागढीका घिमिरेले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए। पारिवारिक स्रोतका अनुसार उनी तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहिन थिए।

हाल उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ। उनका भाइ नरेन्द्रले अस्पताल पुगेर शव पहिचान गरेका हुन्।  

विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएका थिए।

उनी एक ‘नख्खु जेल ब्रेकर’ हुन्। झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए।

भारतीय प्रहरीका अनुसार उनलाई एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएको हो। दुर्घटना लगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियो। मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell