
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक औषधि दिन थालेको जानकारी दिएको छ।
मंगलवार अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रत्यारोपणका लागि आवश्यक औषधि दिन शुरु गरेको जानकारी दिएका हुन्।
सोमवार प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका हुन्। बुधवार बिहान प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। त्यसका लागि विभिन्न स्वास्थ्य विषेशज्ञहरुबाट परीक्षण तथा प्रत्यारोपण अगाडि गर्नुपर्ने नियमित डायलासिस गरिरहेको जानकारी दिएको हो।
प्रधानमन्त्री ओलीलाई झापा घर भएकी भाञ्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिँदै छिन्।