PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'नीरफूल' सुटिङमा दयाहाङको टिमसँग रिसाएका थिए फूलमान, 'चट्याङमा बर्थडे सेलिब्रेसन गरेका थियौं'



मन्दिरा खत्री

'नीरफूल' सुटिङमा दयाहाङको टिमसँग रिसाएका थिए फूलमान, 'चट्याङमा बर्थडे सेलिब्रेसन गरेका थियौं'

काठमाडौं : अभिनेता दयाहाङ राई स्टारर फिल्म 'नीरफूल' आँउदो चैत ७ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्मलाई पत्रकार/साहित्यकार फूलमान वलले निर्देशन गरेका हुन्। नीरफूलमा दयाहाङ मुख्य भूमिकामा छन्।

निर्माण टिमले फिल्मको प्रचारत्मक साम्रगीको रुपमा ट्रेलर सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा दयाहाङले फिल्म छायांकन गर्दाको अनुभव सुनाए। त्यसो त नीरफूलको अधिकांश छायांकन धादिङको रुबी भ्यालीमा भएको थियो। रुबी भ्याली जाने क्रममा चट्याङको कारण गाडीमै रात बिताउनु परेको दयाहाङले बताए।

भने 'रुबी भ्याली पुग्नु नै हाम्रो लागि सिनेमाको कथा जस्तै भएको थियो। बाटो निकै अप्ठयारो। रातको बाह्र बजेको थियो। हामीले चढेको गाडीको सय मिटर अगाडि चटयाङले गर्दा बिजुलीको तार जल्न थाल्यो। बिजुलीको तार हाम्रो गाडीको सीधा माथि। गाडी ब्याक गर्ने ठाँउ पनि थिएन। हामी निकै आतियौ। संयोग भने त्यही दिन हाम्रो साथी विजयको जन्मदिन परेको थियो। अनि रातको बाह्र बजे हामीले त्यही चट्याङको आगोको उज्यालोमा विजयको बर्थडे सेलिब्रेसन गर्‍यौं।'

रुबी भ्यालीको बाटो अप्ठयारो भएको कारण फिल्म छायांकनको लागि करिब दुई वर्ष लागेको छ। त्यस्तै निर्देशक फूलमानले पनि रुबी भ्याली छायांकनको लागि दोहोरिएर जानु परेको बताए।

उनले रुबी भ्याली जाँदाको घटनाबारे थप प्रस्ट्याए। भने 'फिल्म सुटिङका लागि जाँदा हामी बाटोमै अलपत्र पर्‍यौ। तीनवटा गाडी थिए। फोरह्वील इन्जिन भएको गाडीमा दयाहाङको टिम - अगाडि, अगाडि। हाम्रो गाडी माथि चढेन। उहाँहरुको गाडी माथि चढेको थियो। त्यही गाडी फर्केर आउँछ भनेर कुरेर बसेका थियौं। सुटिङको सामान भएको अर्को ठुलो गाडी पछाडि आउँदै थियो। फोरह्वील गाडी नआए पनि ठुलो गाडीमा त जान सकिन्छ नि भनेर कुरेर बसेको, त्यो गाडी पनि आएन। हामी चाहि दुबै गाडीका ड्राइभरले धोका दिए भनेर रिस उठेको थियो। कुर्दा कुर्दा त्यही रात वितायौं। भोलिपल्ट थाह भयो, दयाहाङको टिम चट्याङको कारण बाटोमै रोकिएको रहेछ। अर्को ठुलो गाडी पहिरोका कारण रोकिएछ।'

नीरफूल भूकम्पमा परि बिछोडमा परेका परिवारको लागि गर्ने संघर्षमा आधारित रहेको छ। फिल्मको स्क्रिप्ट मनपरेको कारण यस फिल्ममा सानै भूमिकामा भए पनि दखिने चाहना भएको दयाहाङले बताए।

गायक राजेशपायल राईले चलचित्रमा यात्रा चालेकोमा निर्देशक वललाई शुभकामना दिँदै धेरै नेपालीले भोगेको भूकम्पको कथा ल्याएकोमा खुसी व्यक्त गरे। उनले यसअघि वलले समाचार लेख्ने गरेकोमा अब उनको बारेमा आफूले लेख्ने समय आएको बताए।

के छ नीरफूलमा?

फिल्ममा २०७२ सालको भूकम्पपछि धादिङको रुवी भ्यालीबाट छिन्नभिन्न भएका एक परिवारले काठमाडौं आउँदा छोरी गुमाउनु परेको र त्यसपछिको संघर्षको कथा समेटिएको छ। निर्देशक फुलमानका अनुसार गएको बिनासकारी भूकम्पमा लाखौं घरहरु भत्किए पनि यो चलचित्रले भूकम्पको समय भत्किएका मनहरुको कथा समेटिएको छ। चार वर्ष अघि विनासकारी भूकम्पको समाज, त्यो भूकम्प पीडितहरुको अहिलेसम्मको सँघर्ष लगायत समाजका वर्गीय संघर्षको कथा पनि यो चलचित्रले उठाएको उनले बताए।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए। निर्माताको रुपमा बेलायतबाट दीपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन्। राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन्।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रुपमा पनि छन्। फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

फिल्ममा दयाहाङसँगै बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबालगायतको अभिनय छ। फिल्ममा रेखा थापाको 'गेस्ट रोल'मा देखिने छन्।                                              



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell