
काठमाडौं : पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले सो जानकारी दिएका हुन।
‘पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको छ,’ मिर्गौला रोग विशेषज्ञ डा काफ्लेले भने।
डा काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकामा यो नेपाली चिकित्सकको लागि ठूलो अवसर भएको बताए। उनले प्रत्यारोपणको तयारी राम्रो भएकाले शल्यक्रिया सफल हुनेमा ढुक्क हुन आग्रह गरे।
वरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले पनि प्रधानमन्त्रीले आफ्नो मिर्गौलाको प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताए। डा दिक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नागरिक आवतजावत गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने बताए।
डा देवकोटाले शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा श्यया तयारी अवस्थामा राखिएको बताए। त्यस्तै, काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको उनले स्पष्ट पारे।
कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद बिरामीलाई आइलोसेनमा राखेर उपचार गरिएको जानकारी दिए। कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहिँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले स्पष्ट पारे। साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउन उनले सुझाव दिए।